सिमरा,नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बुधवार सिमरा रंगशालाको अवलोकन गर्नुभएको छ ।
वीरगञ्जमा जारी जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको समापन समारोहमा सहभागी हुन सिमरा आउनुभएका चन्दले रंगशालाको अवलोकन गर्नुभएको हो ।
जीतपुरसिमरा गोल्डकप फूटबल प्रतियोगिता आयोजना हुँदै आएको सिमरा रंगशालामा क्रिकेट खेल समेत खेलाउन सकिने प्राविधिक सम्भाव्यताको अध्ययन भइरहेका बेला चन्दले रंगशालाको अवलोकन गर्नुभएको हो ।हवाई मार्ग हुँदै सिमरा आउनुभएका चन्दलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामा, मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुवास जयसवाललगायतले रंगशाला अवलोकनका लागि अनुरोध गरेका थिए । स्थानीय सरकार प्रमुखसहितको आग्रहपछि चन्दले रंगशालाको स्थलगत अवलोकन गर्नुभएको हो ।
रंगशालाको अवलोकन गर्दै चन्दले मापदण्डअनुसारको पूर्वाधार तयार भएमा क्रिकेट खेल आयोजना गर्न सकिने बताउनुभएको छ । सो अवसरमा अध्यक्ष चन्दले प्राविधिकरुपमा खेल संचालनका लागि रंगशाला योग्य भएमा क्यानले प्रतियोगिता आयोजना गर्नेसमेत बताउनुभएको थियो ।
उक्त रंगशालाको केही दिनअघि नेपाल क्रिकेट संघका व्यवस्थापक विनोद दासले समेत अवलोकन गर्नुभएको थियो । दासले सिमरा रंगशालालाई क्रिकेट प्रयोजनका लागि प्रयोग हुने गरी पूर्वाधार निर्माण गर्न सकिने प्रतिक्रिया दिनुभएको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख पौडेलले बहुउदेश्यीय रंगशालाको रुपमा सिमरा रंगशालालाई विकास गर्ने प्रयासस्वरुप क्रिकेटको सम्भाव्यताको विषयमा खोजी भइरहेको बताउनुभयो । क्रिकेटको मापदण्डभित्र पर्ने अवस्था रहेमा क्रिकेट खेलको गतिविधि रंगशालामा बढाउन सकिने पौडेलको भनाई थियो ।
जीतपुरसिमरा गोल्डकप आयोजक नवजनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले फूटबल र क्रिकेट दुवै खेललाई संगसंगै अघि बढाउन मिल्ने गरी प्राविधिक विषयमा छलफल अघि बढिरहेको बताउनुभयो । क्यानका अध्यक्ष चन्दलाई रंगशालाको वस्तुस्थितिका विषयमा जानकारी दिँदै लामाले क्यानका व्यवस्थापक दासले समेत सकारात्मक प्रतिक्रिया दिएकाले आफूहरु उत्साहित रहेको बताउनुभएको थियो ।