वीरगन्ज,जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाईकल सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ४ निवासी २३ बर्षीय नसिर अन्सारी रहेका छन् । अन्सारीले बैशाख २८ गते विहान वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बेल्वा बस्ने सुरेन्द्र यादवको नाममा दर्ता रहेको ना १९ प ४०२२ नम्बरको सेतो कालो रंगको सुपर स्पलेण्डर मोटरसाईकल चोरी गरेका थिए । अन्सारीले यादवको घर कम्पाउण्डभित्र प्रवेश गरेर मोटरसाइकल चोरी गरेका हुन ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्सा मातहातको प्रहरी चौकी मिलनचोकबाट खटेको टोलीले मंगलबार बिहान २ बजेको समयमा सोही वडामा रहेको भेडैयाखोलाको पुलबाट मोटरसाइकलसहित अन्सारीलाई पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

पक्राउ परेका अन्सारीमाथि चोरी सम्बन्धी कसूर मुद्दा दर्ता गरेर पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको डिएसपी खनालले बताउनुभयो ।

Leave a Reply