कलैया,माघे संक्रान्तिको अवसरमा बाराको बरियारपुरस्थित गढीमाई मन्दिर परिसरमा लाग्ने विशेष मेलामा बोका बलीसंगै परेवा उडाउने तयारी पूरा भएको छ ।मन्दिर संचालन तथा विकास समितिका अनुसार माघे संक्रान्तिको अवसरमा नेपाल र भारतका विभिन्न स्थानबाट आउने श्रद्धालु भक्तजनहरुले आफ्नो मनोकामना पूरा हुने विश्वासमा गढीमाई मेला लागेको वर्ष बोकाको बलीसंगै परेवा उडाउदैआएका छन ।
विगतमा जस्तै यस वर्ष पनि माघे संक्रान्तिको अवसरमा गढीमाई मेलामा धार्मिक अनुष्ठान, सांस्कृतिक कार्यक्रम गरिने र भक्तजनले परेवा उडाउने कार्यको तयारी पूरा भएको मेला समितिका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो । ‘गढीमाई मेला लागेको सालको माघे संक्रान्ति पर्वमा मन्दिरमा बलीसंगै परेवा उडाएर श्रद्धालुहरुले दर्शन गर्ने परम्परा छ, अध्यक्ष यादवले भन्नुभयो, यसको लागि सबै तयारी पूरा भएको छ ।’
उहाँका अनुसार गढीमाई मेलाको वर्ष माघे संक्रान्तिमा बोका बली र परेवा उडाउने परम्परा हजारौं वर्ष पुरानो हो । जसलाई स्थानीयले ठूलो धार्मिक विश्वासका साथ पालन गर्दै आएका र यसबाट मन्दिरको धार्मिक महत्व र स्थानीय अर्थतन्त्रलाई अझ प्रगाढ बनाएको उहाँको भनाई छ ।माघे संक्रान्ति मेलामा सुरक्षा व्यवस्थापनमा पनि विशेष ध्यान दिइएको अध्यक्ष यादवले बताउनुभयो । भक्तजनहरूको भीडलाई व्यवस्थित गर्न र कुनै अप्रिय घटना नहोस् भनेर स्थानीय प्रशासनले पर्याप्त सुरक्षाकर्मी परितचालन गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।