जीतपुर,नेपाल सितोरियो कराँते संघ शाखा डोजो जीतपुरले आइतवार एक कार्यक्रम आयोजना गरि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीलाई बिदाई गरेको छ ।बाराका प्रहरी प्रमुखको रुपमा करिब एक वर्ष ४ महिनाको कार्यकाल पुरा गरी काठमाडौं सरुवा हुनु भएका प्रहरी उपरीक्षक बोगटीलाई नेपाल सितोरियो कराँते संघ शाखा डोजो जीतपुर बाराले माला, टीका र सम्मान पत्र सहित बिदाई गरेको हो ।सो अवसरमा बोल्दै नेपाल कराँते महासंघ बाराका अध्यक्ष सानू पटेलले प्रहरी प्रमुखले आफ्नो कार्यकालमा बिना राजनीतिक दबावमा काम गर्ने गरेको र जिल्लामा ठूल्ठूला अपराधमा फरार अभियुक्तहरुलाई पक्राउ गर्न सफल हुनुभएकोले शाहसी र निडर प्रहरी अधिकारीको भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नु भएको छ ।प्रहरी उपरीक्षक बोगटीले बारा जिल्लाको सीमावर्ती क्षेत्रसंग जोडिएको हुनाले यहाँ लागू औषध सेवनकर्ताको संख्या बढेको बताउनु भयो । त्यस्तै उहाँले लागूऔषध सेवनबाट बच्नको लागि सानै उमेरदेखि आफ्नो बालबालिकालाई खेलकुदमा सहभागिता गराउन अभिभावकसंग आग्रह गर्नुभयो । नेपाल सितोरियो कराते संघ शाखा डोजो जीतपुरका प्रशिक्षक मनोजकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कराते महासंघ बाराको अध्यक्ष सानू पटेल, युवा नेता एवं पूर्वखेलाडी अफताब आलमले शुभकामना मन्तव्य राख्नु भएको थियो ।बिदाइ कार्यक्रममा युवा नेता अफताब आलम, दिपेन्द्र गुप्ता, मजहर अन्सारी, एलेक्स डोजोका सहप्रशिक्षक रबिन्द्र सहनी, चन्द्र बहादुर सिहलगायतकाले माला र सम्मान पत्र सहित उपरीक्षक बोगटीलाई टीका लगाएर बिदाइ गर्नुभएको थियो ।



















