वर्तमान नेकपा एमाले नेतृत्वको सरकार गठन भएको लगभग ६ महिनामात्र भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको तत्कालिन सरकार विस्थापित गरेर कांग्रेस र एमालेले केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गरेका थिए ।
सरकार गठन भएको यो अवधिमा सरकारले देश र जनताका लागि कति काम गरेको छ त्यसको समीक्षा त भइरहेको छ तर अहिले फेरि कताकता सरकार परिवर्तनको कुरा पनि आएको छ । अहिले सरकार परिवर्तन केका लागि भन्ने कुरा चैं मुल प्रश्न हो । अहिले प्रचण्ड वा शेरबहादुर वा अरु कुनै व्यक्ति प्रधानमन्त्री बन्दैमा देशमा देखिएको यावत समस्या समाधान होलान् त ?

यो जन मानसमा उब्जिएको प्रश्न हो । सरकार जतिबेला मन लाग्छ उतिबेला परिवर्तन गरिनु देशका लागि घातक भइरहेको छ । माओवादी वा अन्य विपक्षी दलले जे भनेपनि सरकारमा रहेका दलहरु काँग्रेस र एमाले भने सचेत बन्न जरुरी छ । यो देशमा जहाँ जतिबेला पनि सरकारका लागि जस्तो पनि गठबन्धन हुने गरेको छ । ठूला पार्टी मिलेर बनेको सरकार यो फेरि परिवर्तन भयो भने यसले देशलाई फाइदा गर्दैन ।

अहिलेको सरकारले राम्रो काम गरेको छ भन्न खोजिएको होइन तर सरकार परिवर्तन नै समस्या समाधान हुदै होइन । व्यक्ति परिवर्तन हुदैमा अहिले देशले भोगिरहेको समस्या समाधान पनि हुदैनन् । त्यसैले पनि विपक्षी दलहरु पनि आगामी चुनावमा राम्रो कसरी गर्ने र बहुमत कसरी ल्याउने भन्नेमा लाग्दा उचित हुन्छ । सरकार फेर्दैमा समस्या समाधान हुदैन । त्यसैले यो अर्थहिन अभ्यास कसैले कहीबाट नगरेकै राम्रो ।

Leave a Reply