सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारीहरु स्तर तथा तह वृद्धिको माग गर्दै ५ दिनदेखि आन्दोलनमा उत्रिएका छन ।
स्तर तथा तह वृद्धिमा ढिलासुस्ती भएको भन्दै कर्मचारीहरु कार्यालयको कामकाज रोकेर धर्ना र ‘पेन डाउन’मा उत्रिएका हुन ।मधेश प्रदेश सरकारले २०८१ साल भदौ ७ गते राजपत्र प्रकाशित गरि प्रदेशका स्थानीय तहको निम्ति स्थानीय सेवा(गठन तथा सञ्चालन) ऐन–२०८१ जारि गरेको थियो। उक्त ऐनको दफा २९ उपदफा १ बमोजिम योग्यता पुगेका कर्मचारीहरुलाई स्थानीय तहले निर्णय गरि एक तह वृद्धि गर्ने प्रावधान रहेको भएपनि जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले तह वृद्धि सम्बन्धि नियम बनाउन ढिलासुस्ती गरेर कर्मचारीहरुको वृत्ति विकासमा लापरवाही गरेकोभन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन ।
प्रमुख प्रशासकीय अधिकृत काफ्लेले तह वृद्धि गर्दिन्न, ढिलो गर्दिन्छु, जे मन लाग्छ त्यहि गर्नुस जस्ता गैह्जिम्मेवार अभिव्यक्ति दिने गरेकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको कर्मचारीले बताएका छन । २९ जना सहायक पाँचौ र एक जना अधिकृत नवौँ तहका गरि ३० जना कर्मचारीहरुले नगर प्रमुख र उपमुख समक्ष ज्ञापन पत्र बुझाएर गत पुष १९ गतेदेखि पेन डाउनसहित कार्यालयमा धर्ना शुरु गरेका हुन ।
प्रदेशको ऐन अनुसार हरेक वर्षको पुष र असार महिनामा स्थानीय तहले एक महिनाअगाडि सूचना निकालेर कर्मचारीको तह वृद्धि गर्ने प्रावधान रहेको छ। सोहि बमोजिम जीतपुरसिमरा उपमहानगरपालिकाले गत कार्तिक ३० गते तह वृद्धिको लागि आवेदन माग गरि सार्वजनिक सूचना वेभसाईटमा प्रकाशित गरिसकेको थियो । उक्त सूचना अनुसार आफुहरुले नगरपालिकामा आवेदन दिएको तर पुष महिना बित्न लाग्दासमेत पालिकाले आफुहरुको तहवृद्धि सम्बन्धि कुनै चासो नदेखाएको गुनासो कर्मचारीहरुको रहेको छ ।
प्रदेशका अधिकांश पालिकाले कर्मचारीहरुको तह वृद्धि गर्दा जीतपुरसिमराले हालसम्म पनि सो सम्बन्धि आवश्यक निति निर्माण गर्न सकेको छैन । जसका कारण कर्मचारीहरु प्रदेशका अन्य पालिकाको समान तह र योग्यताका कर्मचारीभन्दा पछाडि पर्नुपरेको आन्दोलनरत एक कर्मचारीको भनाई छ।यसैबीच कर्मचारीहरुले नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोला अधिकारीलाई ज्ञापन पत्रमा बुझाएर आफूहरुको धर्नाले सेवाग्राहीहरु समेत मर्कामा परेको भन्दै यथाशिघ्र माग पूरा गरि कार्यक्षेत्रमा फर्किने वातावरण मिलाईदिन अनुरोध गरेका छन ।


















