पुष्पराज खतिवडा
मनहर्वा,सिमरा– कोल्हवी सडकखण्डमा पर्ने बालगगां खोलामा निर्माणधिन पुल जग्गा विवादमा अलपत्र परेपछि स्थानीय चिन्तामा परेका छन । उनीहरुले नजिकँदै गरेको बर्षायाम र वाढी डुवानले पार्ने प्रभावको जिम्मा विवादित पक्षले नै लिनुपर्ने चेतावनी दिएका छन् ।
मुल निर्माण कार्य रोक्नु पर्ने भन्दै जिल्ला अदालत बारामा मुद्दा हाल्ने सखरा हाउजिँग कम्पनी प्रा.लि.बसुन्धरा काठमाडौं र प्रतिउत्तरमा नजाने सडक विभाग दुबैका कारण पुल अलपत्र परेको उल्लेख गरेका छन् । ‘तत्काल समस्या समाधान गरी निकास दिन सुझाएका छौं, जीतपुरसिमरा १२ फत्तेपुरका अजितकुमार रायले भन्नुभयो, अन्यथा दुबै पक्षका विरुद्ध स्थानीय तहको अगुवाईमा अदालत जाने तयारीमा छौं ।’
समस्याको समाधान छिटो निकाल्न विवादित पक्षलाई सामुहिक आग्रह गरेको उहाँले बताउनुभयो । पुल निर्माणको काम गत माघबाट अलपत्र पारिएको छ । डाईभर्सनको उचित व्यवस्था पनि गरिएको छैन । डाइभर्शन नहुँदा सर्वसाधारणले बालुवामा कष्टपूर्ण यात्रा गर्नु परिरहेको जीतपुरसिमरा १८ बडहर्वाका हुतराज ढुङ्गानाले बताउनुभयो । स्कुल, कलेजका विद्यार्थी, उद्योगका मजदुर र हजारौं सर्वधारणले खोला बगरमा पाएको सास्ती बयान गरि साध्य नभएको उहाँको भनाइ छ ।
जिल्ला अदालत बाराले गत माघ ६ गते पुल निर्माणको काम यथास्थितिमा रोक्न आदेश गरेको थियो । आदेशसँगै पुल निर्माण कम्पनी रसुवा आश्रय केभी काठमाण्डौंले आफ्नो सम्पुर्ण टिम फिर्ता गरि काम गर्न नसक्ने भन्दै विभागमा निवेदन गरेको जनाएको छ ।
‘छलफल र सहमतिबाट निकास निकाल्ले प्रसाय गरिरहेकाछौं, जीतपुरसिमरा उपमहानगरपालिका १८ का अध्यक्ष अर्जुजप्रसाद दाहालले भन्नुभयो, । केही दिनभित्र पुल निर्माणको काम गर्न सकेनौ भने कलैया उपमहानगरको सखुई, श्रीपुर, उत्तरझिट्कैंया र जितपुरसिमराको फत्तेपुर, वडहर्वा, ईनर्वासिरा, सिमरीलगायतका गाउँमा बाढी पस्ने र ठुलो क्षेति बेहोर्नु पर्ने छ ।’
यस्तै पिडित पक्षलाई कानुनी उपचार र क्षेतीपुर्तीमा सहयोग गर्ने र पुल निर्माण कम्पनीलाई काम गर्ने वातावरण बताउन सके ठुलो जनधनको क्षती जोगाउन सकिने अध्यक्ष दहालले बताउनुभयो । हजारौं स्थानीयले सास्ती भोग्नु नपर्ने मध्यमार्गी उपायको खोजी गर्ने प्रयास भैरहेको डिभिजन सडक कार्यालय हेटौंडाका ईन्जीनियर एवं सुचना अधिकारी सिंहबहादुर विष्टले बताउनुभयो । यसकोलागि छलफलसँगै कार्यालयको तर्फबाट अदालतमा प्रतिउत्तर लगाउने तयारी गरिएको उहाँले बताउनुभयो । बिहिबार बिहान निर्माणधिन पुलमै भएको छलफलमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ बडहर्वा, १२ र १३ को फत्तेपुरका जनप्रतिनिधि एवं स्थानीयको सहभागिता थियो । विभागका प्रतिनिधि समेतको सहभागितामा छलफल भएको सुचना अधिकारी सिंहले जानकारी दिनुभयो ।
हाउजिंग कम्पनीले आफ्नो जमिनमा पुल बनाएकाले जग्गा किचोला रहेको भन्दै पुल भत्काई निर्माण कार्य यथाअवस्थामा राखी पाउँ पाउँ भनि सडक विभाग हेटौंडा र निर्माण व्यवसायीकाविरुद्ध जिल्ला अदालत बारामा मुद्दा हालेको थियो । मुद्दा सुनुवाई गर्दै जिल्ला अदालत बाराले ०७७ माघ ६ गतेको पत्रबाट दुबै पक्षलाई बोलाएको थियो । हाउजिंग कम्पनीका तर्फबाट कलैया उपमहानगरपालिका २४ सखुईका रामेश्वरप्रसाद यादवले गत पौष २४ मा जिल्ला अदालत बारामा मुद्दा दर्ता गर्नुभएको हो ।
पुल निर्माण कम्पनी रसुवा आश्रय केभी काठमाण्डौंले जग्गा विवाद मिलाउने काम आफ्नो नभइ सरकारको भएको भन्दै पन्छिन खोजेको छ । विवाद सल्टिएन भने निर्माणको अन्तिम चरणमा पुगेको पुल अलपत्र पर्ने डिभिजन सडक कार्यालय हेटौंडाका ईन्जीनियर विष्टले बताउनुभयो ।