वीरगंज, २९ भदौं । जेनजी आन्दोलनका कारण अवरुद्ध भएको मुलुकको प्रमुख भन्सार, वीरगञ्ज भन्सार, आइतबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। भन्सार प्रमुख प्रशासक विष्णुप्रसाद ज्ञवालीले शुक्रबार र शनिबार आंशिक रूपमा मात्र काम भए पनि आइतबारदेखि सबै सेवा नियमित रूपमा सुचारु भएको जानकारी दिए।
उनका अनुसार कार्यालय खुलेको पहिलो दिन (शुक्रबार) १३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो भने दोस्रो दिन (शनिबार) मात्रै १ अर्ब ६८ करोड रुपैयाँ संकलन भएको हो। आइतबार करिब ५० करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ। सामान्य अवस्थामा यस भन्सारले दैनिक ७०÷७२ करोड रुपैयाँ राजस्व असुल गर्ने गर्दछ।
शनिबार एकैदिन ७ सयदेखि ८ सयको हाराहारीमा मालवाहक सवारीसाधन जाँचपास भई यार्डबाट बाहिरिएका छन्। आन्दोलनका क्रममा अड्किएका अधिकांश मालसामान बोकेका सवारीसाधन यार्डबाट निस्किसकेको कार्यालयले जनाएको छ। सामान्यतया भारतबाट दैनिक ४ सयदेखि ७ सयको संख्यामा मालवाहक सवारीसाधन यस भन्सारमार्फत नेपाल भित्रिने गर्छ।
चाडपर्व नजिकिँदै गएकाले उत्सव लक्षित सामान बोकेका सवारीसाधनको संख्या बढ्ने अनुमान गरिएको छ। भन्सारले संकलन गर्ने राजस्वमा नयाँ सवारीसाधन र इन्धनको योगदान आधाभन्दा बढी रहने गरेको छ। त्यसपछि मदिरा, औद्योगिक कच्चा पदार्थ र फलामका वस्तुले पनि महत्त्वपूर्ण योगदान दिने गर्छन्।
चालु आर्थिक वर्षदेखि सिर्सिया सुक्खा बन्दरगाह भन्सार वीरगञ्ज भन्सारमा गाभिएको छ। यससँगै भदौ महिनामा मासिक राजस्व असूली लक्ष्य भेट्ने सम्भावना बढेको भन्सार कार्यालयले जनाएको छ।

















