सिमरा,रौतहटको फतुवा विजयपुरमा बुधवार राति घरमा सुरुङ खनेर चोरी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थायी ठेगाना नखुलेका ६५ वर्षीय रामायण नट, ६० वर्षीय लक्ष्मण नट, ३५ वर्षीय मनोज नट र ३४ वर्षीय सुनिल नट रहेका छन् ।फतुवा विजयपुर ६ पेटभर्वा गाउँका अच्छेलाल साहको घरमा राति करिब १२ बजे चोरहरुको समूहले सुरुङ खनेर घरभित्र रहेको पाँच वटा मोबाइल, गरगहना र नगद दुई लाख चोरी गरेका थिए । स्थानीयका अनुसार गाउँका युवाहरूले चोरी भएको मोबाइलको लोकेसन पत्ता लगाई खोजतलास गर्नेक्रममा उनीलाई फतुवा गाउँको मठछेउमा नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका हुन ।
प्रहरीका अनुसार पक्राउ परेका चोरहरू कलैया क्षेत्रका हुन् । उनीहरु दैनिक गुजारा टार्न माग्दै हिँडिरहेका थिए । चोरी गरिएको मोबाइल, नगद र गरगहना सम्बन्धित व्यक्तिलाई बुझाइएको ईलाका प्रहरी कार्यालय विजयपुरका सई ज्ञानेन्द्रकुमार ढकालले बताउनुभएको छ ।चोरहरूलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

















