निजगढ,निर्वाचन अधिकृतको कार्यालयले बिहीवार निजगढमा सर्वदलीय बैठकको आयोजना गरेको छ ।
आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने क्रममा निर्वाचन अधिकृतको कार्यालयमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी र सुरक्षाकर्मीको उपस्थितिमा सर्वदलीय बैठक सम्पन्न भएको हो ।
बैठकमा निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले निर्वाचनको क्रममा उत्पन्न हुनसक्ने शंभावित व्यवधान र चुनौतिहरु र निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने बारेमा बताउनुभएको थियो । त्यसैगरी सहायक निर्वाचन अधिकृत रविन घिमिरेले स्थानीय तह निर्वाचनको आचारसंहिता वाचन गरेर सुनाउनुभएको थियो ।
बैठकमा राजनीतिक दलका प्रतिनिधि र संचारकर्मीहरुले विभिन्न सुझाब र सल्लाह दिएका थिए । कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की, नेकपा एमाले निजगढ नगर उपाध्यक्ष भोलाप्रसाद गौतम, नेपाली कांग्रेश नगर उपसभापती ज्ञानबहादुर गोले, माओवादीका प्रतिनिधि यतिराज सापकोटा, राप्रपा निजगढ नगर अध्यक्ष खडकप्रसाद उप्रेती, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष भिमसेन सापकोटा, उन्नत लोकतन्त्र पार्टीको तर्फबाट आगमी निर्वाचनमा नगर प्रमुखकी प्रत्यासी गीता मैनाली, जसपाका मोजहर मन्सुरलगायतको उपस्थिति रहेको थियो ।
सर्वदलीय बैठकमा राजनीतिक दल तथा उम्मेदवाहरुले निर्वाचन आचारसंहिता पूर्णरुपमा पालन गर्ने, उम्मेदवारले आवश्यक सबै कागजातसहित उपस्थित भएर कार्यालयमा भिडभाड नगरी शान्तिपूर्ण रुपमा मनोनयन पत्र दाखिला गर्ने र बाहलवाल जनप्रतिनिधि, कर्मचारी र सरकारी लाभको पदमा रहेका आकांक्षीहरुले सो पदबाट राजिनामा दिएको निस्सा पेस गर्नुपर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
यसअघि बिहीवार बिहान निजगढ नगरपालिका वडा नम्बर ७ वडा कार्यालयमा निर्वाचन अधिकृतको कार्यलय उद्धाटन गरिएको थियो ।
त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकामा पनि बिहीवार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जीतपुरस्थित उपमहानगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । बैशाख ३० गतेका लागि तोकिएको निर्वाचन प्रक्रिया सम्पन्न गर्न कार्यालय स्थापन भएसंगै अधिकृत टिकामणी न्यौपानेले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभएको छ । सोही अवसरमा अधिकृत न्यौपानेले जीतपुरसिमराको निर्वाचन प्रक्रियालाई विवाद रहित रुपमा सम्पन्न गर्ने तयारी सुरु गरिएको बताउनुभयो ।