पुष्पराज खतिवडा
मनहर्वा,किसानले लगाएको उन्नत जातको मकैको घोगामा दाना नलागेको गुनासोपछि सरकारी टोलीले बारा जिल्लाका विभिन्न पालिकामा अनुगमन गरेको छ ।कृषि मन्त्रालय अन्तर्गतको बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र काठमाण्डौंले समिति नै गठन गरेर किसानको समस्या बुझ्न कर्मचारीहरुलाई गाउँ पठाएको हो ।

बिउबिजन गुणस्तरीय नियन्त्रण केन्द्रले पठाएको टोलीले आइतवार र सोमवार बाराको जीतपुरसिमरा उपमहानगर र प्रसौनी गाउँपालिकामा किसानले लगाएको मकै बालीको निरीक्षण गरेको छ ।राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका बरिष्ठ बैज्ञानिक डा.भीमनाथ अधिकारीको संयोजकमा गठन भएको ७ सदस्यीय टोलीले जीतपुरसिमरा उपमहानगरको वडा नम्बर १५, १६, १८, २० र प्रसौनी गाउँपालिकाको वडा नम्बर ५ र ६ मा किसानले लगाएको मकै बालीको खेतमा पुगेर निरीक्षण गरेको छ ।

हल्कमार्क को ५५५५, पायनियरको ३३५५, श्रेष्ठा, एविएम ३५५ लगायतको जातमा समस्या देखिएकोमा सबै भन्दाबढी हल्कमार्कको ५५५५, पायनियरको ३३५५ मा समस्या देखिएको जीतपुरसिमराका किसान मिश्रीलाल यादवले बताउनुभयो ।
निरीक्षणपछि बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रको टोलीले दाना नलागेको मकैको नमुना परीक्षणको लागि जम्मा गरेर काठमाण्डौं लागेको छ । डा. अधिकारिको संयोजकमा गठन गरिएको समितिको सदस्यमा राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका बरिष्ठ बैज्ञानिक डा.महेन्द्र त्रिपाठी, राष्ट्रिय बालि प्रजनन् तथा अनुवान्सिक अनुसन्धान केन्द्र खुम्मलटारका डा.उज्वलकुमार सिंह, बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरका बरिष्ठ बाली विकास अधिकृत डा. प्रकाश आचार्य सहितको टोलीले बारा, पर्सामा किसानको मकै खेतीमा देखिएको समस्यामा अनुगमन गरेको हो ।

कार्तिक महिनामा मकै लगाएका अधिकांश किसानको मकै बालीमा यस्तो समस्या देखिएको र यकिन रुपमा समस्याको पहिचान ल्याबमा नमुना परिक्षण गरेपछि मात्र थाहा हुने बरिष्ठ बैज्ञानिक डा. अधिकारीले बताउनुभयो ।बारामा यस वर्ष ५ हजार ८ सय ६० हेक्टरमा मकै खेती गरिएको छ । गत वर्ष ३७ हजार ४ सय ४० मेट्रिक टन मकै उत्पादन भएकोमा यस वर्ष उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण साहले बताउनुभयो ।जीतपुरसिमरा उपमहानगरमा करिब १ सय ५० बिगाहमा र प्रसौनी गाउँपालिकामा ६० बिगाह क्षेत्रफलमा किसानले लगाएको मकै बालीमा दाना नलाग्ने समस्या देखिएकोे कार्यालय प्रमुख साहले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here