नरेश गुप्ता

बरियारपुर,पचरौता नगरपालिकामा जसपाबाट निर्वाचित जनप्रतिनिधिले कर्मचारीहरुलाई दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि गल्ति ढाकछोप गर्न उनीहरुले शनिबार कलैयामा पत्रकार सम्मेलनको आयोजना गरेका छन ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवलाई नगर सभा बिथोल्न दबाब दिदै कलैयास्थित उनको डेरामा पुगेर जसपाबाट नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले धम्की दिइएको बताइएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवल यादवलाई कार्यालयमा पुगेर कार्यपालिका निर्णयको माईन्युट लिन खोज्ने जस्तो गलत क्रियाकलापमा आफै संलग्न रहेका जनप्रतिनिधिले आफ्नो गल्ती ढाकछोप गर्न पत्रकार सम्मेलन आयोजना गरेको नगर प्रमुख जलान्धर सिंहले बताउनुभयो ।
जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई असार ५ गतेको कार्यपालिका बोर्ड बैठक पश्चात् वडा नम्बर २ का वडा अध्यक्ष मनोज यादव, मकबुल मिया, प्रेमनारायण चौधरी लगायत १२ जनालाई नगर प्रमुख सिंहका मान्छेहरुले हातपात गरेको र ज्यान मार्ने धम्की दिएको उल्टै आरोप लगाएका छन ।
जसपाबाट निर्वाचित वडा अध्यक्षहरुले प्रेस विज्ञप्ति नै जारी गरि पचरौता नगरपालिकाको कार्यपालिकाको निर्णयको प्रतिलिपि माग गर्दा नगर प्रमुख सिंहले सूचनाको हक प्रयोग गरेर सूचना आयोगबाट लिन जनाएको, सूचनाको हकबाट बंचित गरेको आरोप वडा अध्यक्ष कन्हैया लाल यादवले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन ।
नगर प्रमुख सिंहले एकलौटी पाराले नगरपालिका चलाउन खोजेको, जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई दुव्र्यवहार गरेको भन्दै असार १४ गतेदेखि वडा कार्यलयबाट सम्पादन हुने कार्यहरू ठप्प हुने प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन । यता नगर प्रमुख सिंहले आफू नगरपालिकाको बिकास र संवृद्धिको लागि सहकार्य गरि अगाडि बढन खोज्दा जसपाबाट कार्यपालिकामा बहुमत प्राप्त जनप्रतिनिधिले अवरोध सृजना गरेको बताउनु भएको छ ।
नगरपालिकामा निर्वाचित कुनै पनि जनप्रतिनिधिलाई कार्यलयमा दुव्र्यवहार, हातपात गरिएको आरोप आधारहिन रहेको बताउनुभयो । पचरौता नगरपालिकाको नगर सभाको लागि कार्यपालिकाको निर्णय बमोजिम नै असार १५ गते गर्ने सबैलाई जानकारी गराइएको तर सो अवधिमा निमित्त कार्यालय प्रमुख र स्वास्थ्य शाखा प्रमुख यादवलाई उल्टै कार्यकक्षमा पुगेर विभिन्न बहानामा दुव्र्यवहार गरिएको बताउनुभयो ।



















