कलैया,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका सञ्चारकर्मी र उद्योगी व्यवसायीहरुसँग शान्ति सुरक्षाको अवस्था बारे बुधवार छलफल गर्नुभएको छ ।
बारा जिल्लाको प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेपछि जिल्लाको शान्ति सुरक्षाको अवस्थबारे जानकारी लिने उद्देश्यले उपरीक्षक बोगटीले सिमरा क्षेत्रका व्यवसायीहरुसंग छलफल गर्नुभएको हो ।
ईलाका प्रहरी कार्यालय सिमरामा आयोजना गरिएको कार्यक्रममा उपरीक्षक बोगटीले पत्रकारहरुसँग पत्रकारिता क्षेत्रमा देखापरेको समस्या र जिल्लाको पत्रकारिताको अवस्थाको बारेमा जानकारी लिनुभएको नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीले जानकारी दिनुभयो ।
पत्रकारहरुलाई प्रहरी उपरीक्षक बोगटीले आफु विभिन्न ठाउँमा बसेर प्रहरी प्रवक्ताको जिम्मेवारीसमेत निर्वाह गरिसकेकाले पत्रकारहरुलाई सहजै सूचना उपलब्ध गराउने वातारण मिलाउने आश्वासन पनि दिनुभयो ।
त्यस्तै जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका पदाधिकारीहरुसँग उद्योग व्यवसाय सञ्चालनको क्रममा भोग्नु परेको समस्या बारेमा पनि जानकारी लिनुभएको थियो ।
छलफलमा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेलगायतले उद्योगी तथा व्यावसायीहरुले बहोर्दै आएको समस्याको विषयमा प्रहरी उपरीक्षक बोगटीलाई जानकारी गराएका थिए ।
जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले प्रहरी उपरिक्षक बोगटीलाई कार्यालयमा स्वागत पनि गरेको थियो ।