सिमरा,जेनजी युवा समूहको नाममा स्थानीय युवाहरुद्वारा वडा अध्यक्ष र कार्यालयका कर्मचारीहरुमाथि अनावश्यक दवाव दिन थालेपछि जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न वडाहरुबाट सेवा प्रभावित बनेको छ ।
पालिकाको वडा नम्बर २० को वडा कार्यालयमा सेवा नै बन्द भएको छ भने अन्य वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरुले पनि अनावश्यक दवावमा काम गर्नुपरेको गुनसो गरेका छन ।

जेनजी समूहको नाममा स्थानीय केही युवाहरुले पछिल्लो पटक गत आइतवार वडा नम्बर २० को कार्यालयमा अचानक प्रवेश गरी टेबल–कुर्सी तोडफोड गर्नुका साथै जनप्रतिनिधि र कर्मचारीमाथि दुव्र्यवहार गरेपछि शान्ति सुरक्षाको कारण देखाउँदै वडाबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको हो । वडा अध्यक्ष रसुलमियाँ अन्सारीसहित वडा सचिव र कर्मचारीहरूले शान्ति सुरक्षाको कारण देखाउँदै वडा कार्यालय बन्द गरेका हुन् ।
स्थानीय शम्भु यादवको नेतृत्वमा ५०÷६० जनाको संख्यामा कार्यालयमा गएका युवाहरूले विद्यालयको शौचालय जीर्ण भएको, नाला सरसफाइको भुक्तानी नपाएको, स्वास्थ्य चौकी सञ्चालनमा नआएको र वडाको मसानघाटको जग्गा अतिक्रमण भएको विषयमा प्रश्न उठाउँदै विवाद सुरु गरेका वडा अध्यक्ष अन्सारीले बताउनुभयो । सामान्य छलफलबाटै टुंगो लाग्न सक्ने विषयमा युवाहरूको समूह एक्कासि तोडफोड र आक्रमणमा उत्रिएको उहाँले बताउनुभयो ।

जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २० ले वडाभित्र रहेका जीर्ण शौचालय मर्मतका लागि चालु आर्थिक वर्षमा ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अन्सारीले बताएअनुसार, नाला सरसफाइको हकमा प्रत्येक वर्ष वडाले पालिकाको जेसिभी प्रयोग गरेर सरसफाइ गर्दै आएको उहाँले जनकारी दिनुभयो ।
वडाध्यक्ष अन्सारीले जेनजी समूहका युवाहरू एक्कासि आक्रामक भई हातपातमा उत्रिएको भन्दै बिहीबार भएको कार्यपालिका बैठकमा समेत गुनासो गर्नुभएको थियो । उहाँले शान्ति सुरक्षाको माग गर्दै उपमहानगरमा लिखित निवेदन दिनुभएको छ । अन्सारीको निवेदनमा उपमहानगरले स्थानीय प्रशासनलाई पत्राचार गर्दै शान्ति सुरक्षा व्यवस्थापन गरिदिन आग्रह गरेको छ ।

उपमहानगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकमा वडाध्यक्ष अन्सारीले जस्तै वडा नम्बर १३ का वडाध्यक्ष हेमनारायण चौधरी, वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठलगायत केही जनप्रतिनिधिहरूले जेनजीका नाममा युवाहरूले वडामा आएर धम्काउने, कानुनविपरीत काम गर्न दबाब दिने र वडामा त्रास फैलाउने काम गरेको भन्दै गुनासो राखेको उपमहानगरपालिकाले जनाएको छ । वडा नम्बर १३ का वडा अध्यक्ष चौधरीले जेनजीका युवाहरूले राम्रा विषयहरू उठाए पनि प्रस्तुत गर्ने शैली नमिल्ने गरेको बताउनुभयो ।यता राष्ट्रिय स्वतन्त्र पार्टी, जीतपुर–सिमराका नगर अध्यक्ष सुरेश केसीले रास्वपाको नाममा अराजकता फैलाउन खोज्ने युवाहरूलाई पार्टीले स्वीकार नगर्ने बताउनुभएको छ ।

Leave a Reply