निजगढ,निजगढ नगरपालिकाभित्र रहेका सामुदायिक वनका पदाधिकारी र सरोकारवालाहरुसँग आइतवार निजगढमा एकदिने छलफल कार्यक्रमको आयोजना गरिएको छ ।निजगढ नगरपालिका, जिल्ला सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) बाराले आयोजना गरेको सो कार्यक्रममा नगर फेकोफन निजगढ र डिभिजन वन कार्यालय सिमरा, नेपाल वन निगम लिमिटेड, शाखा कार्यालय पथलैया तथा आन्तरिक राजस्व कार्यालय सिमराको संयुक्त समन्वय गरेका थिए ।
जिल्ला सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै निजगढ नगर प्रमुखसुरथ पुरीले सामुदायिक वन व्यवस्थापनमा सहजीकरण गर्न नगरपालिकामा वन तथा वातावरण शाखा स्थापना भई वन अधिकृतकोसमेत नियुक्ति गरिएको जानकारी गराउनुभएको थियो ।

सामुदायिक वन विकासकालागि नगरपालिकाले नीति तथा कार्यक्रममा वन क्षेत्रलाई प्राथमिकतामा राखेको र वन सम्बन्धि विभिन्न कार्यक्रमहरुमा बजेट समेत छुट्याइएको कार्यक्रमका प्रमुख अतिथि रहनुभएका नगर प्रमुख पुरीले जानकारी गराउनुभएको थियो ।कार्यक्रममा नेपाल वन निगमका प्रमुख कार्यकारी अधिकृत मनबहादुर खड्काले निगमको गतिविधि बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले वन निगमले हाल सम्पादन गर्दैआएको मुख्य कार्यहरु, निगमको वर्तमान अवस्थाका साथै काठ दाउरा खरिद बिक्रीको कानुनी व्यवस्थाका बारेमा जानकारी दिनुभयो ।

त्यसैगरी डिभिजन वन कार्यालय बाराका डिभिजनल वन प्रमुख राजिव झाले सामुदायिक वन व्यवस्थापनका समस्या र चुनौतिहरुको सामना गर्दै अगाडि बड्ने उपायसहित वन ऐन, नियमावली एवं निर्देशिकमा व्यवस्था गरिएको वन व्यवस्थापन सम्बन्धि विषयमा जानकारी दिनुभएको थियो ।नेपाल वन निगम लिमिटेड, शाखा कार्यालय पथलैयाका प्रमुख सुमन सिहुले नेपाल वन निगमको गतिविधिसहित सामुदायिक वन उपभोक्ता समूहबाट वन निगमलाई काठ दाउरा बिक्री गर्ने प्रक्रियाको र कानुनी व्यवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

त्यसैगरी आन्तरिक राजस्व कार्यालय सिमराका कर अधिकृत रामकृष्ण गुप्ताले सामुदायिक वन उपभोक्ता समूहलाई स्थायी लेखा नम्बर (प्यान) लिन पर्ने आवश्यकता र सोको फाईदाको बारेमा जानकारी दिनुभयो । कर अधिकृत गुप्ताले सामुदायिक वन उपभोक्ता समूहलाई प्यान नम्बर लिन आवश्यक कागजात र अपनाउन पर्ने प्रक्रियाको बारेमा समेत जानकारी गराउनुभएको थियो ।

उहाँका अनुसार सामुदायिक वन उपभोक्ता समूहले स्थायी लेखा नम्बर लिनका लागि उपभोक्ता समूह दर्ताको प्रमाणपत्र तथा डिभिजन वन कार्यालयको सिफारिस पत्र, समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि, स्थायी लेखा नम्बर लिन आउने तथा बायोम्याट्रिक गर्न आउने व्यक्तिलाई अख्तियारी दिइएको निर्णयको छाँयाप्रति, उपभोक्ता समुहको विधानको प्रतिलिपि, उपभोक्ता समूहको छाप, सब्मिशन नम्बरसहितको अनलाईन आवेदन फारम, उपभोक्ता समूहको कार्यालयको ठेगाना खुल्ने कागजात (लालपुर्जा वा भाडा सम्झौता), उपभोक्ता समुहको कार्यालयको ठेगाना स्पष्ट हुने नक्सा आवश्यक हुन्छ ।कार्यक्रममा निजगढ नगरपालिकाका वन तथा वातावरण शाखा प्रमुख अनिल कोइरालाले नगरपालिका क्षेत्रभित्र रहेका २७ वटा सामुदायिक वन उपभोक्ता समूहहरुको हालको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा नगर फेकोफन निजगढका अध्यक्ष श्री कुशबहादुर थापा, निजगढ नगरपालिकाभित्रका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply