गोरखा,सरकारले राष्ट्रिय शहिद घोषण गरेका गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ३ हिडीटारका सशस्त्र आन्दोलनका सहिद चन्द्रप्रसाद खनालको परिवारले कुशको शव बनाएर मृतकको अन्तिम संस्कार गरेका छन् ।२०५८ साल मंसिर १६गते घर नजिकैको खेतबाट दाँही गरिरहेको अवस्थामा तत्कालिन शाही सेनाले कथित माओवादीको आरोपमा पक्राउ गरी बेपत्ता बनाएको थियो । बुवा बेपत्ता बनाएको लामो समयसम्म केही प्रमाण प्राप्त होला कि भनेर आफूहरुले अन्तिम संस्कार नगरेको भएपनि अब सरकारले शहिद घोषणा गरेका कारण अब अन्तिम संस्कारका लागि लम्बाउन आवश्यक नठानेर संस्कार गरिएको पत्रकारसमेत रहनुभएका खनालका कान्छा छोरा कृष्णउदासले बताउनुभयो । राज्यले अहिलेसम्म पनि शहिदको अवस्थाका विषयमा जानकारी नदिनु बिडम्बना भएको उहाँको तर्क छ । राज्यले आफ्ना मान्छेलाई शहिद घोषणा गर्नु सकारात्मक भएपनि अझै पीडकलाई कारबाही र पीडितलाई भरणपोषणको व्यवस्था हुनुपर्ने खनालकी पत्नी पित्तकुमारी खनालले बताउनुभयो । शहिद खनालको दुई छोरा र दुई छोरी छन् ।
को हुन चन्द्रप्रसाद खनाल ?
२००२ साल मंसिर २ गते पिता गंगाधर र माता उमादेवी खनालको कोखबाट माइलो सन्तानको रुपमा जन्मनु भएका चन्द्रप्रसाद खनालले साधारण शिक्षा मात्र लिनु भएको थियो ।पिता गंगाधर खनाल पनि राजनीतिक चेत र परिवर्तनको पक्षमा रहेका कारण राजनीतिमा बुवाको प्रभाव छोरमा देखिन्छ । यद्यपि राणकालिन समयमा काँग्रेस समर्थनमा रहेका आफ्ना पिता गंंगाधरलाई प्रहरीले काँग्रेस भएकै नाताले पक्राउ गरी गोर्खाको भच्चेकस्थित चौकीमा थुन्न खोज्दा काँग्रेसले नै साथ नदिएपछि र २०२० सालमा चर्चित जोताहा काण्डमा समेत सहभागी रहेका आफ्ना बुवालाई सहयोग नगरेपछि उहाँ कम्युनिष्टतिर झुकाव राखेको देखिन्छ ।२०३६ सालमा भएको जनमत संग्रहमा पनि चन्दप्रसादको प्रत्यक्ष सहभागिता थियो । स्थानीय चर्चित दारिमबोटे काण्डमा चन्द्रले परिवर्तनकारीलाई सघाएको देखिन्छ । आफ्नै भान्जा श्रीनाथ अधिकारीबाट बढी प्रभावित बनेका खनाल २०४० सालतिर नै तत्कालिन मसालका नेताहरु प्रचण्ड, बावुराम भट्टराई, रामबहादुर थापासंग सम्पर्क भएको थियो ।श्रीनाथ उत्तिबेला नै अद्र्धभूमिगत जस्तो हुनुहुन्थ्यो । २०४० सालमा चन्द्र खनाललाई केही मण्डले प्रवृत्ति भएकाले घरमा नै जिउदै जलाएर मार्नका लागि घरमा आगो लगाउने प्रयास भएको थियो र सोही समयमा उहाँले जंगलमा गएर ज्यान बचाउनु भएको थियो ।२०५२ सालमा जनयुद्ध शुरु हुँदै गर्दा उहाँको खास भूमिका थिएन । पछि २०५४ सालमा श्रीनाथ अधिकारीका छोरा नारायण अधिकारी पनि माओवादीमा भूमिगत भएपछि भने नारायणको सेल्टरको रुपमा चन्द्रखनालको घर रहन गयो र क्रमशः माओवादीहरु खनालको घरमा आउने क्रम बढ्यो र पार्टीका सबै कार्यकर्ताहरुले उहाँलाई मामा भन्न थाले । पार्टीभित्र उहाँ मामा भनेर चिनिनु हुन्थ्यो ।२०५६ साल भदौमा कक्षा दशमा पढ्दै गरेको कान्छा छोरा कृष्ण खनाल (हाल पत्रकार रहेका) लाई प्रहरीले विद्यालबाट नै पक्राउ गरी उहाँकै अगाडि निर्धात कुटपिट पनि गरेको थियो । कान्छो छोरालाई पटक पटक गोरखा जेलमा थुनिएको थियो । जब २०५८ मंसिर ८ मा तत्कालिन शेरबहादुर देउवा सरकारले देशभर संकटकाल घोषणा गरेपछि गोरखाको भच्चेकस्थित स्थानमा ११ गते सेनाको ब्यारेक खडा गरियो र १६ गतेबाट उहाँलाई बेपत्ता बनाइयो ।त्यत्तिबेला उहाँ केवल पार्टी आवद्ध किसान संघको इलाका सदस्य मात्र रहनु भएको थियो । सामान्य कृषि पेशमा संलग्न रहनु भएका खनाललाई सेनाले लैजाँदा साधारण कपडा मात्रै लगाउनुभएको थियो ।


















