कृष्ण मोहन साह
सेढवा,
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइरालाले कुनै पनि राजनितिक दलसँग आगमी निर्वाचनमा गठबन्धन नहुने बताउनुभएको छ । तर नेपाली कांग्रेसले निर्वाचन अगाडी नै गठबन्धन गरेको पार्टीका राम्रो नभएको कोइरालाले बताउनुभयो ।पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ३ बिवाह भवनमा बिहीवार नेपाली कांग्रेसको १ सयदिने विशेष अभियान कार्यक्रम तथा कार्यकर्ता भेलामा बोल्दै कोइरालाले यस्तो बताउनुभएको हो ।
नेपाली कांग्रेसले आगामी निर्वाचनमा स्थायी सरकार बनाउनका लागि एक भएर अगाडी बढ्न आवश्यक रहेको कोइरालाको भनाई थियो । एकतावद्ध भएर चुनावमा लडियो भने कांगेसले एक्लै पनि निर्वाचनपछि स्थायी सरकार बनाउन सकिने कोइरालाको भनाई थियो ।निर्वाचनमा पार्टीबाट टिकट नपाउदा आफ्नै पार्टीका उम्मेदवार हराउन अरुलाई सहयोग र समर्थन गर्ने प्रवृत्ति गलत रहेको डा. कोइरालाको भनाई छ ।
कार्यक्रम पूर्वउद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेकपा एमालेसंग गठबन्धन गरी सरकार बनाउनुको मूख्य कारण संबिधान संसोधन रहेको बताउनुभयो । ‘संबिधानमा कतिपय यस्ता प्रावधानहरु रहेका छन जसका कारण आमनागरिकले समस्या झेल्नु परेको छ, रिजालले भन्नुभयो, देश र जनताको हित विपरित देखिएका संबिधानका धाराहरु परिवर्तन गर्नुपर्छ ।’ उहाँले हालको गठबन्धन सरकारको स्थायित्व लागि मात्र रहेको र अगामी निर्वाचनमा नेकपा एमालेसंग सतर्क रहन पनि कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस पर्साका सभापति तथा मधेस प्रदेश सरकारका भुमि, सहकारी तथा कृषिमन्त्री जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काग्रेस मधेस प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, प्रदेश सभा सदस्य शंकरप्रसाद चौधरी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, बशिष्टनारायण पटेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।