कलैया,भारतीय ट्रकको ठक्करबाट बाराका एकजना युवकको वीरगञ्जमा मृत्यु भएपछि स्थानीय बासिन्दाहरू विरोधमा उत्रिएका छन् ।आक्रोशित स्थानीयहरूले भारतीय नम्बर प्लेटको ट्रकलाई तत्काल खोजी गरी चालकलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् । उनीहरूले भारतीय गाडीको लापरबाही र प्रहरीको निष्क्रियताका कारण दुर्घटनाको भएको आरोप लगाएका छन् ।

स्थानीयहरूले घटनास्थलमा प्रहरीको ढिलासुस्ती र सक्रियतामा कमीका कारण दुर्घटना गराउनेल ट्रक भाग्न सफल भएको दाबी गरेका छन् । उनीहरूका अनुसार दुर्घटना भएको स्थानबाट करिब एक सय मिटर टाढा प्रहरी टोलीले प्रभावकारी रुपमा काम गर्न नसकेको बताएका छन ।

घटनामा ट्राफिक प्रहरीको भूमिका पनि शङ्कास्पद रहेको स्थानीयको भनाई छ । उनीहरूले ट्राफिक प्रहरी नियम पालन गराउन असफल भएपछि ड्राइपोर्ट क्षेत्रमा पटक–पटक दुर्घटना हुने गरेको बताएका छन् ।सडकमा बत्तिको अभावले रातको समयमा दुर्घटनाको जोखिम उच्च हुने गरेको उनीहरूको भनाई छ । ड्राइपोर्टजस्तो व्यस्त क्षेत्रमा समेत महानगरपालिकाले सडक बत्तिको व्यवस्था गर्न नसक्नु दुःखको कुरा भएको स्थानीयको भनाई छ ।

नम्बर खुल्न नसकेको भारतीय ट्रकको ठक्करबाट बुधवार बेलुका बाराको सुवर्ण गाँउपालिका वडा नम्बर २ का १६ वर्षिय राज मिश्रको मृत्यु भएको थियो । दुर्घटनामा बाराकै अर्का एक युवक घाइते बनेका छन ।प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ ड्राइपोर्ट बहुवरी चोक नजिकै रहेको लक्ष्मी पेट्रोल पम्पअगाडि पहिचान खुल्न नसकेको भारतीय ट्रकले ना २५ प ९०९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ उक्त मोटरसाइकलमा सवार मिश्रको मृत्यु भएको हो ।घाइते हुनेमा कलैया उपमाहानगरपालिका वडा नम्बर ६ का २८ वर्षिय सन्दीप पाण्डे रहेका छन् । उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय बासिन्दाले वीरगञ्ज महानगरपालिकालाई सडक सुरक्षाको व्यवस्था गर्न बारम्बार आग्रह गरे पनि समस्या समाधान नभएको गुनासो गरेका छन् । सडकमा उचित बत्तीको अभावले रातको समयमा दुर्घटनाको जोखिम उच्च हुने उनीहरूको भनाई छ । ड्राइपोर्टजस्तो व्यस्त क्षेत्रमा समेत सडक बत्तीको अभावले सुरक्षाको प्रत्याभूति गर्न नसकिएको स्थानीयले बताए ।
दुर्घटनापछि स्थानीयहरूले ड्राइपोर्ट क्षेत्र वरपर प्रदर्शन गर्दै सुरक्षाका उपाय अवलम्बन गर्न माग गरेका छन् । उनीहरूले भारतीय नम्बर प्लेटका सवारी साधनले बारम्बार दुर्घटना गराउने गरेको र प्रहरी प्रशासनले प्रभावकारी कदम नचालेको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रदर्शनका क्रममा स्थानीयहरूले “भारतीय गाडीको लापरबाही बन्द गर ।” “प्रहरीको लापरबाही मुर्दावाद ।” जस्ता नाराबाजी गरेका थिए ।विरोध प्रदर्शनका क्रममा स्थानीयहरूले यस क्षेत्रमा पुनः यस्तो घटना नदोहोरिने गरी ठोस कदम चाल्न माग गरेका छन् । उनीहरूले सुरक्षाका लागि ट्राफिक प्रहरीलाई थप जिम्मेवार बनाउन, सडक बत्तीको व्यवस्था गर्न, र भारतीय गाडीहरूको प्रवेशलाई कडाइ गर्न माग गरेका छन् । स्थानीयले माग पूरा नभएसम्म आन्दोलन निरन्तर जारी राख्ने चेतावनी पनि दिएका छन् ।मोटरसाइकललाई ठक्कर दिने ट्रकको पहिचान यकिन नभएकाले शंकाका आधारमा तीन वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।

Leave a Reply