कलैया,बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेलहियाका प्रधानाध्यापक पवन सिंहमाथि कुटपिट गरिएको भिडियो सामाजिक संजाल फेसबुकमा बाहिरिएको छ ।
उक्त भिडियो तीन सेकेन्ड को छ भने भिडियोमा देखिएका एक जनाले प्रधानाध्यापक सिंहको कार्यकक्षभित्र कुर्सीमा बसेको अवस्थामा कुटपिट गरेको प्रष्ट देखिन्छ । प्रधानाध्यापक सिंहले वडा नम्बर ६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा र उहाँसङ्गै आएका अन्य केही युवाहरुले पालैपालो आफूलाई मरनासन्न हुने गरि पिटेको र सोको भिडियोसमेत बनाएको आरोप लगाउनुभएको छ ।
प्रधानाध्यापक सिंहले वडा अध्यक्ष कुश्वाहा र उहाँका लठैतहरुले पहिलादेखि आफूलाई धम्काउदै आएको र धेरै दुख दिएको पनि बताउनुभयो । यता, वडा अध्यक्ष कुश्वाहा प्रधानाध्यापक सिंह विद्यालयमा कहिल्यै पनि पूरा समय नबस्ने, समयमा शिक्षकको तलब उपलब्ध नगराउने र दुई वर्षदेखि विद्यालयको आम्दानी खर्चको बैंक स्टेटमेन्ट माग्दासमेत नदिएको र सो बारेमा कुरा राख्दा अटेर गरेर विद्यालयलाई राजनीतिक अखडा बनाएर विद्यार्थीको जीवनसङ्ग खेलवाड गरिरहेको आरोप लगाउनुभयो । वडा अध्यक्ष कुशवाहले प्रधानाध्यापक सिंहमाथि विद्यालयका केही विद्यार्थीहरुले हातपात गरेको बरु आफूले कुटपिट गर्न रोकेको बताउनु भएको छ ।
प्रअमाथि कुटपिट भएको भिडियो सार्वजनिक भएपनि उहाँलाई कसले कुटपिट गरेको हो भन्ने बारेमा भने यकिन हुन सकेको छैन । तर वडा अध्यक्ष कुशवाहा र प्रअ सिंहबीच दुई वर्षदेखि राम्रो सम्बन्ध नरहेकाले वडा अध्यक्षले नै कुटपिट गरेको हुन सक्ने आशंका गरिएको छ ।