निजगढ,बारामा ट्राफिक प्रहरीले सवारी साधनमा प्रयोग हुने प्रेसर हर्नमाथि प्रतिबन्ध लगाएको छ ।ध्वनी प्रदूषणका कारण बढ्दै गएका गुनासोलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा निजगढले प्रेसर हर्नमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ र मातहतका प्रहरी इकाईहरूले ध्वनी प्रदूषण न्यूनीकरण अभियान सञ्चालन गरिरहेका छन् । अभियानको क्रममा सिमरा, जितपुर, अमलेखगञ्ज, पिलुवा, कलैया लगायतका स्थानमा सवारी साधनहरूको चेकजाँच गरिएको छ ।चेकजाँचका क्रममा ३५ वटा सवारी साधनबाट प्रेसर हर्न हटाउनुका साथै जथाभाबी जडान गरिएको बत्तीहरू पनि निकालिएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

ध्वनी प्रदूषणले स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राख्दै यस प्रकारको अभियान अझ प्रभावकारी रूपमा अगाडि बढाइने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।ट्राफिक प्रहरीले सर्वसाधारणलाई पनि यस अभियानमा सहयोग गर्न आग्रह गरेको छ ।

Leave a Reply