कलैया,बाराको जीतपुरसिमरामा गत शनिवार मृत भेटिएका प्रहरी भान्से राजकुमार रुम्बाको हत्यामा सानो हतियारको प्रयोग भएको खुलेको छ ।नेपाल प्रहरीको कार्यालय सहयोगी (भान्से) मा कार्यरत रुम्बाको मृत्यु गोली प्रहारबाट भएको पुष्टि भएको बारा प्रहरी प्रमुख महेन्द्र खड्काले जानकारी दिनुभयो ।

शव परीक्षणमा गोली प्रहारबाट मृत्यु भएको खुलेको खड्काको भनाई छ । हत्या कसले र किन गरेको हो भन्नेबारे प्रहरीले अनुसन्धानका लागि छुट्टै टोली परिचालन गरेको उहाँले बताउनुभयो ।रुम्बाको हत्याबारे अनुसन्धानका क्रममा प्रहरीले राष्ट्रिय अनुसन्धान विभाग बाराका इन्स्पेक्टर श्रीकान्त तिवारीसंग सोधपुछ गरेको छ । तिवारीकै गाडीभित्ररुम्बाको शव फेला परेको थियो ।मृतक रुम्बाको इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी थियो । तर उनी पछिल्लो समय सिमरा विमानस्थलको सुरक्षागार्डमा कार्यरत थिए ।

सिमरा उपमहानगरपालिका वडा नम्बर–११ स्थितअमाडार सडकमा शनिबार बिहान उनको शव बेवारिसे अवस्थामा फेला परेको थियो । घटनाको अनुसन्धानमा सहभागी एक अधिकारीका अनुसार राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टर तिवारीको गाडी लिएर रुम्बा शुक्रवार राति साढे ९ बजे कलैयातर्फ निस्केका थिए । तर उनको शव शनिबार बिहान सिमरा उपमहानगरपालिकामा फेला परेको थियो ।रुम्बाले आफ्नो गाडी लिएर गएकोबारे अनुसन्धान विभागका इन्स्पेक्टर तिवारीले प्रहरीलाई जानकारी नदिएको अनुसन्धानमा संलग्न प्रहरीको भनाई छ । मृतक रुम्बाको टाउको पछाडि गोली प्रहार गरी हत्या गरिएको प्रहरी स्रोत बताउँछ ।

Leave a Reply