कलैया,सामुदायिक भवन निर्माण गर्न कलैया उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष डाक्टर अख्तर आलम अन्सारीले १० लाख रुपैयाँ मूल्य बराबरको जग्गा दान गर्नुभएको छ । वडाको रामपुर टोलमा सामुदायिक भवन बनाउनको लागि उहाँले आफ्नो जमिन दान गर्नुभएको हो ।
उहाँले साबिक गाविस रामपुर खेस्राहाको कित्ता नम्बर १४०२ र १४०४ को ४ धुर जग्गा खरिद गरेर सामुदायिक भवनको नाममा नामसारी गरिदिनुभएको हो । वडाबासीको आवश्यकता पुरा गर्नका लागि १० लाख रुपैयाँमा जग्गा किनेर दान गरेको वडा अध्यक्ष अन्सारीले बताउनुभयो ।
वडा अध्यक्ष अन्सारीले दान गरेको जग्गामा सामुदायिक भवन बनाउन ३१ लाख रुपैयाँ बजेट पनि छुट्याएर उपभोक्ता समिति मार्फत काम अघि बढाइएको छ । एक महिनाभित्रमा सामुदायिक भवन तयार भइसक्ने वडा अध्यक्ष अन्सारीले बताउनुभयो ।
सामुदायिक भवनको लागि जग्गा दान गर्नुको साथै वडा अध्यक्ष अन्सारीले निजी लगानीमा टेंगहर टोलमा र कलैया गञ्जभवानीपुर सडकदेखि बम्हदेव कोईरीको घरसम्म, रामपुर अहमद अन्सारी घरदेखि नसरुद्दिनको घरसम्मको बाटो र बालकनाहीको घर जाने बाटो बनाएको वडा सदस्य महन्थ महतोले जानकारी दिनुभयो ।
त्यसैगरी उहाँले वर्षाले डुबानमा पर्दै आएको रामपुर र लोधिया टोललाई डुबानबाट जोगाउन आफ्नै खर्चमा पाईप खरिद गरी पानीको निकास गराएको, रामपुर मन्दिर र मदरसा निर्माणमा र सडक नाला निर्माणमा समेत व्यक्तिगत लगानी लगाउने गरेको वडा सदस्य लक्षुमन चौधरी चौहानले बताउनुभयो ।
वडाको विकासमा निस्वार्थ भएर काम गरेको भन्दै वडा अध्यक्ष अन्सारीलाई ०७८ माघ १८ गते बसेको नगर कार्यपालिका बोर्डको ७९औं बैठकले प्रशंसा पत्र सहित सम्मान गर्ने निर्णय गरेको छ । ०७८ भदौं ११ गते बसेको वडा समितिको बैठकले अध्यक्ष अन्सारीले गरेको कामको मुल्यांकन गर्दै प्रशंसापत्र प्रदान गर्न नगर कार्यापालिका समक्ष सिफारिस गरेको थियो ।