त्यसो त्, नेपालमा न्यायलयलाई प्रभावमा पारेर ठूला र जघन्य अपराधमा संलग्नहरुलाई समेत उन्मुक्ति दिने गरेको पाइन्छ ।
त्यसैले नेपालमा जे पनि हुन सक्छ तर अहिलेका लागि भने त्यस्तो जे पनि भएन भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लाछिमानेको राजनीति भने सकिने लगभग निश्चित देखिएको छ ।
कास्की प्रहरीले मुद्दा दर्ता गरेपछि र सरकारी वकीलको कार्यालयले समेत कम्तिमा २० वर्ष कैदको माग दाबी गरेपछि अब रविको राजनीति सकिने संकेत देखिएको हो । हुन त् रविका लागि यो पहिलो घटना नै त होइन । यसअघि पनि नागरिकता प्रकरणमा उनको संसद पद खारेज भएको थियो । र उपनिर्वाचनमा फेरि चितवनबाट जितेर सांसद नै बने । तर यसपालीको विषय भने अलि फरक छ ।
रविको सांसद पद अब फेरि पनि रहने संभावना कम छ । त्यसो त विभिन्न उपायबाट यो पद रहनसक्ला तर हालका लागि भने यो निकै जोखिममा छ । यहाँ रविको राजनीति सकिनु खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य नयाँ दलहरुको लागि भने चिन्ताको विषय हो । केही गर्ने हुटहुटी लिएर अनि छोटो समयमा जनता माझ लोकप्रिय बनेका रविको राजनीतिक यात्रा छोटो समयमा नै पूर्णविराम लाग्ने भएकोले चिन्ता बढेको हो । त्यो पनि सहकारीका कारण । अब सहकारीकै कारण रवि र या पार्टीको भविष्य अनिश्चित बनेको छ । बेलामा बुद्धी नपुगेको हो वा के भएको हो त्यो त भोलिका दिनमा अझै स्पष्ट हुँदै जाला तर केही गर्छु भन्ने सोच बनाएर आएको व्यक्तिले यस्ता विवादको विषयमा सचेत हुनु चैं पर्ने थियो । कतै यस्तो खाल्डोमा परिन्छ कि भनेर त्यही बेलामा सोच्न जरुरी थियो । बेलामा सचेत नहुँदाको परिणाम अब आफूसहित पार्टीको भविष्य समेत सकिने खतरा छ ।