बुधबार बिहान ८ बजे नेपाली काँग्रेसको संसदीय नेता चयनका लागि चुनाव हुदै थियो तर देशमा ठूलै चुनाव हुन लागेको जस्तो गरी नागरिकहरुको चासो थियो । किन भने उमेरले लगभग असक्त र निवृत्त जीवन बिताउनु पर्ने व्यक्ति हालका प्रधानमन्त्री शेरबहादुर देउवा र युवा अवस्थाका गगन थापाबीचको लडाइलाई स्वभाविक रुपमा हेर्दै धेरैले गगनको जीतको आश गरेका थिए ।तर, अब त्यो पाटो बन्द भएको छ । अपेक्षा गरेभन्दा धेरै कम मत ल्याएर गगन पराजित भए भनौं । उनलाई उनकै गुटमा रहेकाहरुले साथ नदिएको मत परिणामले नै स्पष्ट बनाइदिएको छ । गगनको पक्षमा कुरा गर्ने अनि गगनलाई उस्काउने अनि उनैलाई हराउन भूमिका निर्वाह गर्नेहरुलाई भने इतिहासले मूल्यांकन गर्ला यद्यपि हालका लागि अब यो संभव छैन ।अब देशको भावी प्रधानमन्त्री कांग्रेसको भागमा परे देउवा नै प्रम हुने भए । गगनलाई आफ्नैले नपत्याउनुका कारण धेरै नहोला । मुख्य कुरा उनका पक्षका सांसदहरुको सत्ता चाह नै हो भन्न सकिन्छ । गगनले एउटा संदेश दिन खोजेको भएपनि त्यो सफल भएन । सफल नहुँदैमा सबै कुरा सकियो भन्ने त होइन तर यसले मुलुकको समग्र राजनीतिमा भने असर गर्नेछ ।

















