कलैया,बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ५ करोड ४७ लाख १० हजार ९९५ रुपैयाँ राजस्व संकलन गरेको छ ।सेवा प्रवाहमा गरिएको सुधार, सवारीसम्बन्धी गतिविधिमा आएको विस्तारले राजस्व संकलनमा सकारात्मक प्रभाव पारेको हो ।

कार्यालयले चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता तथा ब्लु बुकसम्बन्धी सेवाबाट मात्रै ३ करोड २५ लाख ५५ हजार ६८५ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।यसैगरी, सवारीसाधन करबाट १ करोड ८० लाख ५० हजार ६६० रुपैयाँ र अन्य यातायात शीर्षकबाट ४० लाख ९० हजार १५० रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख चिन्तन आचार्यले जानकारी दिनुभएको छ ।

कार्यालयले सेवाग्राहीमैत्री वातावरण निर्माणमा जोड दिएकाले लाइसेन्स नवीकरण र नयाँ दर्ता गर्नेहरुको संख्यामा वृद्धि भएको आचार्यले जानकारी दिनुभयो । स्थानीय स्तरमा आर्थिक गतिविधि चलायमान हुनु जस्ता कार्य बढ्नुलाई पनि राजस्व वृद्धिको अर्को मुख्य कारण मानिएको छ ।यद्यपि, गत आर्थिक वर्षको कुल ९ करोड ९३ लाख ८४ हजार ४९६ रुपैयाँको लक्ष्य भेट्टाउन बाँकी तीन महिनामा उच्च दरमा राजस्व संकलन गर्नुपर्ने चुनौती देखिएको छ ।
आर्थिक वर्षको अन्तिम त्रैमासमा सवारी कर तिर्ने र लाइसेन्स नवीकरण गर्नेहरूको चाप स्वभाविक रूपमा बढ्ने भएकाले बाँकी अवधिमा लक्ष्यको नजिक पुगिने अपेक्षा कार्यालयले गरेको छ ।

Leave a Reply