बाराको सिमरामा आइतवार आयोजित एक कार्यक्रममा शिक्षण प्रणालीमा सुधार गर्ने कुरामा जोड दिइएको छ ।
नेपालमा अझै पनि यो भनाई कही कतै सुन्न पाइन्छ–‘न्याय नपाए गोर्खा जानु र एसइइ पास नभए बारा जानु।’यो आहानले बाराको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक छ भन्ने कुराको संकेत नै गर्छ ।
बाराको मात्र होइन,हुन त समग्र मधेस अनि देशकै शिक्षण प्रणालीमा सुधार अति आवश्यक छ । नेपालको शिक्षा धेरै नै घोकेन्ते भयो । व्यवहारिक भएनन् भन्ने तर्क पनि आउने गर्छं । बहस पनि हुन्छ तर यसमा परिवर्तन कसले गर्ने ?
पहिले पहिले कम्यूनिष्टरुले भन्ने गरेको बुज्रुवा शिक्षा र जनवादी शिक्षाको कुरा अहिले कतै पनि सुन्न पाइदैन । बिरानो जस्तै भएको छ । बरु उल्टै तिनै कम्यूनिष्टहरु पटक पटक सत्तामा पुग्दा पनि त्यही बुज्रुवा शिक्षाको वरिपरी मात्रै रुमल्लिएका छन ।
यो हिसावले अहिले नै नेपालको शिक्षा प्रणालीमा व्यापक सुधार र परिवर्तनको संभावना छैन। हुनत शिक्षामा केही परिवर्तन नै नभएको पनि होइन । २० वर्ष अगाडिको शिक्षा र आजको शिक्षामा त फरक छ तर यसमा अपेक्षित सुधार आउन सकेको छैन । यतिबेला विद्यार्थी र स्वयम् राष्ट्रले नै शिक्षामा व्यापक परिवर्तन खोजिरहेको छ ।
एसईई र कक्षा १२ को परीक्षाफलको अवस्थालाई नियाल्ने हो भनेपनि नेपालको शिक्षाको अवस्था कति नाजूक छ भन्ने प्रष्ट हुन्छ । एसईईमा हजारौं विद्यार्थी असफल भएका छन । तर पनि नीति निर्माणमा रहेकाहरुले यो विषयमा बढी गम्भीर भएको देखिदैन । नयाँ शिक्षामन्त्री बन्ने बित्तिकै शिक्षामा परिवर्तनको कुरा गरिन्छ । तर शिक्षा क्षेत्रमा कुनै परिवर्तन देखिदैन । नेपालको शिक्षामा सुधार गर्ने कुरासंभव नै नभएर वा नगरेर परिवर्तन नभएको हो त्यो चैं कुरा बुझ्न गाहेभएको छ ।














