काठमाण्डौं,ताइवानलाई अमेरिकाले सैन्य सहयोग गरेपछि चीन भड्किएको छ । ताइवान आफ्नो भूभाग भएको दाबी गर्दै आएको चीन अमेरिकाले सहयोग गरेपछि भड्किएको हो । उसले अमेरिकी सहयोग ‘एक चीन’ सिद्धान्तको विरुद्धमा रहेको भन्दै आगोसँग नखेल्न चेतावनीसमेत दिएको छ ।

गत शुक्रवार अमेरिकाले ताइवानलाई ५७ करोड डलरभन्दा बढीको सैन्य सहायता र साढे २९ करोड डलरको हतियार बिक्रीको सहमति दिएको थियो । यसपछि चिनियाँ विदेश मन्त्रालय र स्टेट काउन्सिलको ताइवान मामिला कार्यालयले अमेरिकाको चर्को आलोचना गरेको छ ।

चिनियाँ रक्षा मन्त्रालयले पनि ताइवानलाई हतियार बेच्ने र आर्थिक मद्दत गर्ने निर्णयको निन्दा गरेको छ । चिनियाँ रक्षा मन्त्रालयले ताइवानलाई सहयोग गर्ने अमेरिकी घोषणाको आलोचना गर्दै यस्तो निर्णय स्वीकार्य नहुने बताएको छ ।
तर, अमेरिकाले ताइवानलाई यसअघि पनि हतियार बेच्दै आएको छ । अमेरिकाले सबैभन्दा बढी हतियार बेच्ने देशको चौथो नम्बरमा ताइवान पर्छ । अमेरिकाले पहिलोमा साउदी अरब, दोस्रोमा इजरायल, तेस्रोमा जापान र चौथोमा सबैभन्दा धेरै ताइवानलाई हतियार बेच्दै आएको छ ।चीनले ताइवानमा दुई वर्षयता आफ्नो सक्रियता बढाएको छ भने पटकपटक ताइवानको जल र आकाश क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको छ ।

Leave a Reply