पुष्पराज खतिवडा
मन्हर्वा – बारामा बुधवार एकजना स्वास्थ्यकर्मी सहित ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको पचरौता नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी सहित ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा पचरौता नगरपालिकामा कार्यरत ४१ वर्षका पुरुष स्वास्थ्यकर्मी हुन् । त्यस्तै पचरौता नगरपालिका वडा नं.१ का २२ र ३० वर्षिय पुरुष, २ का २९ , ३५ र ३६ वर्षिय पुरुष, ५ का ४० वर्षिय पुरुष र ७ का ५० वर्षिय महिलामा कारोना संक्रमण भएको हो । सँगै बारामा कोरना संक्रमितको संख्या ५५ पुगेको छ । जसमध्ये गत ४ गते करैयामाई गाउँपालिका २का एक ७० बर्षिया बृद्धको संक्रमितबाट मृत्यू भैसकेको छ ।
स्वास्थ्यकर्मी बाहेर संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
गत जेठ ७ गते उनीहरु सहित ५८ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाईएको थियो । बुधबार काठमाण्डौंको टेकु स्थित केन्द्रीय प्रयोगशालाले बाराका ८ जनामा कारोना संक्रमण पुष्ठी गरेको हो ।
पचरौता नगरपालिकाले यस अघि वडा नं.१ को पिरपाती र ४ को बेल्दारी स्थीत विद्यालयमा निर्माण क्वारेन्टाइनमा १४० मानिस बस्दै आएको जनाएको छ । भारतबाट दैनिक १० देखी २० जनाका दरमा भित्रिने क्रम बडिरहेपछी वडा नं.७को बेनौलीमा बुधबार थप एउटा क्वारेन्टाईन निर्माण गर्ने निर्णय भएको मेयर रमेश कुमार यादवले जानकारी दिए । गाउँ फर्किनेको संख्या बढ्दै जाँदा सबैखाले ब्यवस्थापनमा कठिनाई भइरहेको उनले बताए ।
पचरौता नगरपालिकाका ११ जना सहित जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाका १, सिम्रौनगढ नगरपालिकाका ७, बिश्रामपुर गाँउपालिकाका १, कलैया उपमहानगरपालिकाका २ , जिल्ला प्रहरी कार्यालयका ७ जना, करैयामाई गाँउपालिकाका ३ जना, महागढीमाई नगरपालिकाका २१ जना, पचरौता नगरपालिकाको क्वारेन्टाईनमा खटिएका नेपाली सेना २ जनामा संक्रमण देखिएको हो । उनीहरु सबैको कलैया अस्पतालको आईसुलेसनमा राखी उपचार भैरहेको छ ।