निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ को कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । यसअघि भाडाको कोठाबाट सेवा प्रदान गर्दैआएको वडा कार्यालयले ठाडोलाइनस्थित नवनिर्मित भवनबाट आजदेखि सेवा सुरु गरेको हो ।
यसअघि निर्धारण गरिएको कार्यक्रम अनुसार मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव अनुपस्थित बनेपछि कार्यालय भवनको उद्धाटन गर्ने कार्यक्रम भने स्थगित भएको छ । मुख्यमन्त्री उपस्थित हुन नसकेपछि हालको लागि कार्यालय उद्धाटन कार्यक्रम स्थगित गरेर गृह प्रवेश कार्यक्रम मात्रै सम्पन्न गरी सेवा सुरु गरिएको वडा अध्यक्ष रामचन्द्र कटुवालले जानकारी दिनुभयो । मुख्यमन्त्री यादवलाई बोलाएर केही दिनभित्र नै भवनको उद्धाटन गरिने पनि उहाँले बताउनुभयो ।
स्थानीयको उपस्थितिमा वडाका जनप्रतिनिधि र कार्यालयका कर्मचारीहरुले पूजापाठसहित धार्मिक विधिअनुसार गृह प्रवेश गरिएपछि कार्यालयबाट सेवा सुरु गरिएको वडा अध्यक्ष कटुवालले जानकारी दिनुभयो ।स्थानीय दाता तिर्थमान लामाको परिवारका सदस्यहरुले दान गरेको २ कठ्ठा जमिनमा निजगढ नगरपालिका कार्यालयको करिव ३८ लाख लागतमा ४ कोठे पक्की कार्यालय भवन निर्माण सम्पन्न भएको हो ।



















