वीरगञ्ज,वीरगञ्ज उद्योग वाणिज्य संघले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका औद्योगिक प्रतिष्ठानमा नेपाल विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ र बिना सूचना विद्युत कटौती गरेको भन्दै असन्तुष्टि जनाएको छ ।संघका अध्यक्ष अनिल अग्रवालले औद्योगिक प्रतिष्ठानको अक्सिजनकै रुपमा रहेको विद्युत नियमित आपूर्ति नहुँदा उद्योगहरु संचालनमा समस्या भएको जनाउँदै विज्ञप्तिमार्फत असन्तुष्टी जनाउनुभएको हो ।
नेपाल विद्युत् प्राधिकरणले घोषणा गरेको ‘लोडसेडिङमुक्त औद्योगिक क्षेत्र’ तथा ‘उज्यालो नेपाल’ को नाराबाट उत्साहित भएका उद्योगी, व्यवसायी तथा सर्वसाधारण नेपालीहरु हालका दिनहरुमा बढ्दो विद्युत् कटौति, गुणस्तरीय विद्युत् आपूर्ति अभावको कारण उद्योगहरुको उपकरण र कच्चा पदार्थ बिग्रनुका साथै उत्पादन प्रक्रियामा समेत नकारात्मक असर परिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैगरी साना उद्योगहरुले विद्युत् कटौतीको बेला डिजी सञ्चालन गर्न सक्ने अवस्था नभएकोले उद्योग नै बन्द गर्नुपर्ने अवस्था रहेको अध्यक्ष अग्रवालले जनाउनुभएको छ ।करिडोरमा रहेका औद्योगिक फिडरमा २४ घण्टामा १४-१५ पटकसम्म ट्रिपिङ भइरहेको कारण औद्योगिक उपकरण बिग्रिनुका साथै कच्चा पदार्थहरु नोक्सान भइरहेको अध्यक्ष अग्रवालले बताउनुभयो । उहाँले समस्याको समाधानका लागि लोडसेडिङको निश्चित समयावधि नै तोकी बाँकी समयमा गुणस्तरीय विद्युत् आपूर्ति गर्नुपर्ने संघको धारणा रहेको जनाउनुभएको छ ।