बसन्त लामा
सिंगौल,बागदेव दुग्ध उत्पादन सहकारी संस्था, सिंगौल इकाइको १४औं वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ । निजगढ वडा नम्बर २ सिंगौलको सभाहलमा संस्थाका अध्यक्ष थानेश्वर सापकोटा (अविरल)को अध्यक्षतामा भएको सो साधारण सभाको प्रमुख अतिथि जिल्ला दुग्ध उत्पादक सहकारी संघ रौतहटका अध्यक्ष कृष्ण अधिकारीले ब्यानर पढेर उद्धाटन गर्नुभएको थियो ।
साधारण सभामा बोल्दै संस्थाका अध्यक्ष सापकोटाले नेपाल सरकारले भारतबाट दुग्ध पाउडर आयात गरी बिक्री वितरण गर्दा स्थानीय रूपमा संकलन गरिएको दूध पर्याप्त बिक्री हुन नसकेको जानकारी दिनुभयो । यसले स्थानीय कृषकलाई समयमा रकम भुक्तानी दिन कठिनाइ भएको पनि सापकोटाको भनाई छ । सापकोटाका अनुसार सिंगौलका कृषकहरूको तीन महिनाको बक्यौता भुक्तानी केही दिनभित्रै गरिने छ ।
त्यसैगरी साधारण सभामा बारा जिल्ला दुग्ध उत्पादन सहकारी संघका अध्यक्ष पुरुषोत्तम भट्टराईले संस्थाका केही निर्वाचित सदस्यहरूको गैरजिम्मेवार कार्यका कारण सहकारीप्रति भ्रम सृजना भएको र किसानहरूमा निराशा छाएको बताउँदै सहकारीप्रतिको विश्वास पुनस्र्थापना गर्न सबै सदस्यले एकतावद्ध भएर निस्वार्थ भावले काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाको प्रगतिमा योगदान पु¥याउने सदस्यहरूलाई धन्यवाद व्यक्त गर्दै सहकारीको आगामी योजनाबारे पनि छलफल गरिएको थियो ।कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष नारायणप्रसाद गौतम र कार्यपालिकाका सदस्य मानबहादुर डासेलीलगायतको उपस्थिति रहेको थियो ।
साधारण सभाको सञ्चालन सचिव प्रकाशप्रसाद सापकोटाले गर्नुभएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष टुकबहादुर तिमल्सिनाले राख्नुभयो भने संस्थागत प्रतिवेदन अध्यक्ष सापकोटाले प्रस्तुत गर्नुभएको थियो । लेखा प्रतिवेदन लेखा समितिका संयोजक राजनप्रसाद तिमल्सिना र आर्थिक प्रतिवेदन व्यवस्थापक सौरभ अधिकारले प्रस्तुत गर्नुभएको थियो ।
















