हेटौँडा,बारा र मकवानपुरको सीमा क्षेत्रमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित ऐतिहासिक महत्वको सुरुङमार्ग बागमती प्रदेश सरकारले जीर्णोद्धारपछि हेटौँडा उपमहानगरपालिकालाई सोमवार हस्तान्तरण गरेको छ । हस्तान्तरणसँगै लामो समयपछि सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिएको छ ।
बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडामार्फत जीर्णोद्धार गरिएको चुरियामाई सुरुङमार्ग सोमवार चुरियामाई मन्दिर परिसरमा आयोजित कार्यक्रममा निर्देशनालयले उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ।

हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको १०७ वर्ष पुरानो सुरुङमार्गको अब हेटौँडा उपमहानगरपालिकाले सुरक्षा र संरक्षणको जिम्मा पाएको छ ।मर्मत, सम्भारको अभावमा पुरिएर अवरुद्ध बनेको सुरुङमार्ग बागमती प्रदेश सरकारले मूल्य अभिवृद्धि करसहित तीन करोड ६५ लाख ८२ हजार ४१५ रुपियाँको लागतमा जीर्णोद्धार गरेको हो ।

सुरुङ्गमार्ग हस्तान्तरण कार्यक्रमको अवसरमा निर्देशनालय र उपमहानगरपालिकाबिच पुनर्निर्मित चुरियामाई सुरुङमार्गको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी साँचो हस्तान्तरण गरिएको थियो ।कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के, प्रदेश सभाका सदस्य भारती पाठक, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ, पूर्वमन्त्री रामेश्वर फुयाल, हेटौँडा, उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेललगायतको उपस्थिति रहेको थियो ।

चुरे पर्वत छेडेर एक शताव्दीभन्दा अगाडि निर्माण गरिएको उक्त सुरुङमार्ग नियमित मर्मत सम्भारको अभावमा बिच भागमा पुरिएर आरपार गर्न नसक्ने अवस्थामा थियो ।बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडामार्फत ऐतिहासिक महत्वको चुरियामाई सुरुङमार्गको पुनर्निर्माणसँगै पर्यटकीय गन्तव्य बनाउने गरी जीर्णोद्धार गरिएको हो ।

चुरे पर्वत शृङ्खलामा कटान (बक्स कट) गरी कालोपत्रे सडक निर्माणसँगै उक्त सुरुङमार्ग प्रयोगविहीन बनेको थियो ।
सो सुरुङमार्गको सुरुमा पाँच सय मिटर निर्माण गरिएकोमा हाल २२५ मिटर मात्र बाँकी छ ।चुरियामाई सुरुङमार्ग भएर विगतमा जीप, लहरीलगायतका साना सवारी आवतजावत हुने गरेको थियो ।नेपालको पहिलो सुरुङमार्गको परिकल्पनाकार ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको अगुवाइमा वि.सं. १९७४ सालमा निर्माण गरिएको चुरियामाई सुरुङमार्ग निर्माण सम्पन्न गर्न दुई वर्ष लागेको थियो ।

Leave a Reply