कृष्ण मोहन साह
सेढवा,सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) गणेश ठाडा मगरले सीमाक्षेत्रमा हुने तस्करी र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न मातहतका युनिटहरुलाई निर्देशन दिनुभएको छ ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर पर्सामा निर्माण गरिएको सशस्त्र प्रहरी महिला ब्यारेक भवनको उद्धाटन समारोहमा बोल्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरले भौतिक संरचनाहरुको अभावमा पनि सशस्त्र प्रहरीले हरेक क्षेत्रमा सुरक्षा अवस्थालाई मजबुद बनाएको दावी गर्दै अहिले स्थानीय तहको सरकारले पनि भौतिक पूर्वाधार संरचना निर्माणमा सहयोग गरेकोले अब सशस्त्र प्रहरीले परिणाम आउने गरी काम गर्नुपर्ने बताउनुभयो ।
पहिले भौतिक पूर्वाधार संरचनाको अभावमा कार्यसम्पादनमा समस्या र चुनौती हुने गरेपनि अहिले विस्तारै पूर्वाधार सम्पन्न गर्दै लगिएकोले परिणाममुखी काम गर्न निर्देशन दिनुभयो । उत्तरी सीमानामा ७ वटा र दक्षिणी सीमानामा २०० गरी २ सय ७ वटा सीमा सुरक्षा पोष्टहरु स्थापना गरिएको र स्थापित सबै स्थानहरु विस्तारै भौतिक पूर्वाधार सम्पन्न बनाउनेतर्फ सशस्त्र प्रहरी अगाडि बढी रहेको समेत बताउनुभयो ।
राज्य र जनताले अहिले सशस्त्र प्रहरीमाथि नजर लगाउने मात्रै नभई केही उपलब्धीको पनि आशा गरिरहेकोले जनताको आशा र भरोसा जित्ने गरी काम गर्न सशस्त्र प्रहरीहरुलाई निर्देशन दिनुभयो । सबै सुरक्षा निकायको आपसी समन्वय र सामूहिक कार्यले नै निर्वाचनहरु शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सफल भएको बताउदै उहाँले सबैलाई धन्यवाद पनि दिनुभयो ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर परिसरमा वीरगन्ज महानगरपालिकाको २४ लाख बजेटमा निर्माण गरिएको महिला ब्यारेक भवनको सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगर र वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले संयुक्त रुपमा उद्धाटन गर्नुभएको थियो ।
पर्साको ठोरी गाउँपालिकाको विजयवस्तीमा ९१ लाख र छिपहरमाई गाउँपालिकाको मिर्जापुरमा पनि ९१ लाखको बजेटमा ब्यारेक भवन निर्माण भएको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
यसैबीच बिजयबस्तीको उद्धाटन कार्यक्रममा भवन निर्माणको लागि जग्गादाता एवं रेडियो बिजयबस्तीका अध्यक्ष सन्तोष श्रेष्ठले बिओपीलाई ५ कठ्ठा जग्गा दानगर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै प्रमुख अतिथि मगरले दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा ठोरी गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ, ठोरी ४ का वडाध्यक्ष मानबहादुर थिङ, ससस्त्र प्रहरी पर्साका प्रमुख तेजप्रकाश पोखरेल लगायत ठोरी गाउँपालिका ४ का स्थानीयबासीको सहभागीता रहेको थियो ।
नवनिर्मित भवन उद्धाटन समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, नेपाली सेनाका कर्णेल डायमण्ड कार्की, राष्ट्रिय अनुसन्धान पर्साका उपनिर्देशक दीपक खड्का, जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक दीपक गिरी लगायतको उपस्थिति रहेको सशस्त्र प्रहरी १३ नम्बर गण हेडक्वाटर पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक संतोष बस्नेतले जानकारी दिनुभयो ।