कलैया,हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा बारा प्रहरीले २१ लाख नगदसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन भारतीय र दुई नेपाली नागरिक रहेका छन् ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भारतबाट नेपालतर्फ रकम ल्याउदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ७ का आसिफ मनी चेन्जरका संचालक ३१ वर्षीय कलामुद्दिन अंसारी, ३९ वर्षीय मेराजुल हक अंसारी, भारत बिहार मोतीहारीका थाना हरपुर पञ्चायत नायक टोल बस्ने रञ्जित सर्राफ रहेका छन् । फाल्गुन १८ गते कलैया वडा नम्बर ६ स्थित अस्पताल रोडबाट प्रहरीले पाँच लाख नगदसहित सर्राफलाई पक्राउ गरेको थियो । सर्राफलाई नियन्त्रणमा लिएपछि प्रहरीले मनी चेन्जरका संचालकलाई पक्राउ गरेको हो ।
यसैगरी फाल्गुन २० गते भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले विश्रामपुर गाउँपालिका वडा नम्बर १ छतवाबाट १६ लाख ९ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोतिहारी स्यामपुरका ४२ वर्षीय कृष्णलाल साह र मोतिहारी अरेराका ४० वर्षीय रविशंकर सिंह रहेको बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका उनीहरुलाई बरामद नगदसहित सोमवार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको थियो । प्रहरीले उनीहरु विदेशबाट भारत हुदै अवैध रुपमा रकम नेपाल भित्र्याउने कार्यमा संलग्न रहेको जनाएको छ । प्रहरी उपरीक्षक काफ्लेले बैंक तथा वित्तीय संस्था सम्बन्धि कसुरमा कारबाही प्रक्रिया थालिएको जानकारी प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।


















