सिमरा,बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकिकृत समाजवादीका उम्मेदवार कृष्णकुमार (किसान) श्रेष्ठको आफ्नो निर्वाचन क्षेत्रबाट मतदान गर्न नपाउने हुनुभएको छ ।
तनहुँ जिल्लाको ब्यास नगरपालिका ४ दमौलीको मतदाता नामावलीमा नाम समावेश भएका श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र बारा ४ छोडेर सोही मतदान केन्द्रमा पुगेर मतदान गर्नु पर्ने छ ।
आगामी मंसिर ४ गते हुने निर्वातनमा प्रत्यक्षतर्फ मतदान गर्नको लागि मतदाताले आफ्नो नाम समावेश भएको मतदान केन्द्र मैं पुग्नु पर्ने कानूनी व्यवस्था रहेकाले उहाँले बाराबाट मतदान गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।
पूर्वमन्त्री समेत रहेका श्रेष्ठको मतदान केन्द्र ब्यास नगरपालिका वडा नं.४ दमौलीको मदरसा आधारभूत विद्यालय साँखरमा रहेको छ । उम्मेदवार श्रेष्ठले प्रत्यक्ष तर्फका उम्मेदवारलाई मत दिने हो भने तनहुँ मैं जानु पर्नेसमेत आयोगले जनाएको छ ।
तर, बारा ४ मा चुनाव लडनुभएका श्रेष्ठले तनहुँ पुग्न नसक्ने र यस पटक उहाँ मतदानबाट बन्चित हुनुहुने भएको छ ।
नेता श्रेष्ठले आँफू बारा आएर चुनाव लड्ने वा तनहुँ मैं लड्ने भन्ने निधो नभइसकेकाले मतदाता नामावलीमा समावेश नाम सार्न नसकिएको र यस पटक आँफू मतदान गर्नबाट बञ्चित हुँनुपर्ने बताउनुभएको छ । आफ्नों क्षेत्र छाडेर बारा आउनुभएका श्रेष्ठलाई स्थानीय मतदाताले ‘टुरिष्ट’ उम्मेदवारको संज्ञा दिएका छन ।
यसैबीच निर्वाचन आयोगले उम्मेदवार किसान श्रेष्ठलाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।
नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठको विषयमा केही दिन अघि युट्युबमा सार्वजनिक भिडियोप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
‘किसान श्रेष्ठको चुनावी फन्डा’ भन्ने शीर्षकमा सार्वजनिक भएको भिडियो मार्फत् बाराका युवाहरूलाई श्रेष्ठले फ्रि भिसा फ्रि टिकेटमा वैदेशिक रोजगारीमा पठाउँने प्रलोभन दिएको भन्दै त्यसप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।

















