पुष्पराज खतिवडा
बारा,मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले बारा जिल्लाका ४ वटा कृषि क्षेत्रमा लगानी गरी काम गरिरहेका कृषि सहकारी संस्थाहरुको निरीक्षण गर्नुभएको छ ।मन्त्री क्षेत्रीले कृषि सहकारी संस्थाहरुले कृषि ज्ञान केन्द्र बारासँगको आर्थिक साझेदारीमा निर्माण गरी संचालन गर्दै आएका कृषि परियोजना तथा कार्यक्रमहरुसंगै सहकारी संस्थाहरुको पनि शुक्रवार बिहानबाट निरीक्षण अनुगमन गर्नुभएको हो ।
मन्त्री सिंहले सबैभन्दा पहिला जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको निरीक्षण गर्नुभएको थियो । साना किसान सहकारी संस्था मनहर्वाले ज्ञानकेन्द्र सँगको आर्थिक साझेदारीमा बिउ प्रशोधन उद्योग र कृषि उपकरणहरुको सहज सहुलियत परिचालनका लागि स्थापना भएको कस्टम हायरिङ्ग सेन्टर संचालन गर्दै आएको छ । सहकारीले करिब डेढ करोड रकमको लगानीमा स्थापना गरेको कार्यक्रमले हाल बिउमा देखिएको परनिर्भरता कम गर्न सहयोग गर्ने संस्था अध्यक्ष नयनकला खड्काले बताउनुभयो । संस्थाले कृषि प्राविधिक नै नियुक्त गरि कृषि क्षेत्रमा योगदान गर्दै आएको छ । कृषि पसल, दुध संकलन र बिक्री, धान तथा गहुँ खरिद बिक्रीसँगै कृषि पाठशालासमेत संचालन गर्दै आएको उहाँले बताउनुभयो ।
सहकारीको निरीक्षणपछि आयोजित भेलालाई सम्बोधन गर्दै मन्त्री क्षेत्रीले सरकार कृषिलाई व्यवस्थित आधुनिक, सहज र सुलभ बनाउने कुरामा कटिबद्ध रहेको बताउनुभयो । भर्खरै मात्रै कृषि ऐन पारित भएको जनाउँदै उहाँले जनताका माग सम्बोधन गर्ने गरी कानुन बनेको दावी पनि गर्नुभयो । ‘कानुन त आयो । तर आर्थिक समस्याले तत्काल किसानका आकांक्षा पुरा गर्न भने सकिएला जस्तो छैन ।’ उहाँको भनाई थियो ।मनहर्वाको कार्यक्रम सकेर मन्त्री सिंहको टोली कोल्हबी नगरपालिका वडा नम्बर ४ सपही पुगेको थियो । टोलीमा कृषि विकास निर्देशक जितेन्द्र यादव, कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनाराण साह लगायत सहभागी हुनुभएको थियो । टोलीले उक्त सहकारीले स्थापना गरेको दुईबाली धान कार्यक्रमको गोदाम, कस्टम हायरिङ्ग सेन्टरको निरीक्षण गरेको थियो ।
एक करोडभन्दा बढी लगानी गरेको सहकारीलाई मधेस प्रदेश सरकार अन्तर्गतको कृषि केन्द्र बाराले आर्थिक सहयोग गरेको थियो । संस्थाका आगामी कार्यक्रमलाई थप सहयोग गरे के कस्ता उपलब्धी हाँसिल हुन सक्छ भन्ने बारेमा समेत मन्त्री क्षेत्रीले संचालकहरुसंग चासो राख्नुभएको थियो ।सपहीपछि मन्त्री क्षेत्रीको टोली करैयामाई गाउँपालिका वडा नम्बर ५ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड तेतरियाको १४औं वार्षिक साधारणसभामा सहभागी बनेको थियो ।
साधारणसभाका प्रमुख अतिथि समेत रहनु भएका मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री क्षेत्रीले तराई मधेस कृषिको भण्डारण भएको बताउनुभयो । कृषि सहकारीहरुले सरकार र कृषकका बीचमा पुलको काम गरिरहेको भन्दै पछिल्लो समय गाउँमा विशेष गरी कृषि क्षेत्रमा सरकार पुग्नै नसकेको अवस्थामा सहकारीहरुका काम प्रशंसनीय रहेको बताउनुभयो ।
आगामी दिनमा महिला कृषिसेविकामार्फत गाउँगाउँका कृषि समस्या समाधानका लागि कार्यक्रम बनिरहेको समेत उहाँले सुनाउनुभयो । तेतरिया साना किसान कृषि सहकारी संस्थाले समेत मधेस सरकारको सहयोगमा लामो समय अघिबाट बिउ उत्पादन, कस्टम हायरिङ्ग सेन्टर स्थापना र दुध संकलन तथा बिक्रीको काम गर्दै आएको छ ।सोहीक्रममा मन्त्री सिंहले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाको पनि अवलोकन निरीक्षण गर्नुभएको थियो । डुमरवाना सहकारीले वडा नम्बर १४ को मौलापुरमा एकिकृत कृषि परियोजना संचालन गर्दै आएको छ ।संघ सरकार, प्रदेश सरकारको समेत आर्थिक सहयोगमा सहकारीले चामल मिल, बिउ उत्पादन, प्रशोधन, कस्टम हायरिङ्ग सेन्टर र खाने तेलको उद्योग संचालन गर्दै आएको छ ।सो संस्थाले १० करोड रुपैंयाभन्दा बढीको लगानीमा संचालित कृषि परियोजनाले जिल्लाका लाखौंलाई सेवा दिँदै आएको छ भने स्थानीय बासिन्दाले सुलभ र सहज सेवा पाउँदै आएका छन । पछिल्लो समय स्टीम चामलको बिक्री बढ्दा सामान्य मिलको चामलको व्यपार जटील बनेको भन्ने सहकारीका प्रतिनिधिहरुको भनाईमा मन्त्री क्षेत्रीले आवश्यक सहकार्य गर्न सरकार तयार रहेको बताउनुभएको थियो ।
















