वीरगञ्ज,पर्साको विन्दवासिनी गाउँपालिकाले १३औँ गाउँ सभामार्फत आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ३१ करोड रुपैयाँको बजेट ल्याएको छ ।गाउँ सभाबाट गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि ३१ करोड ३ लाख ३४ हजार रुपैयाँको अनुमानित बजेट पारित गरेको हो ।कृषिलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले ल्याएको बजेट उपाध्यक्ष ज्योति चौरसियाले सार्वजनिक गर्नुभएको थियो ।कृषिको पर्याप्त विकास भए मात्रै शिक्षा र स्वास्थ्य लगायत अन्य विकास सम्भव रहेको धारणाका साथ गाउँपालिकाले कृषिलाई प्राथमिकता दिएको चौरसियाले बताउनुभयो ।बजेट पारित भएसँगै गाउँपालिकाले कृषकहरूका लागि कृषि पोलमा तार जडान गरेर निःशुल्क कृषि मोटर वितरण गर्ने उहाँले बताउनुभयो ।शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन र महिला बालबालिका सशक्तीकरणलाई पनि गाउँपालिकाले बजेटमार्फत प्राथमिकता दिएको छ । प्रत्येक वडामा एक विद्यालय कार्यक्रम, विद्यालयमा रहेका विद्यार्थीहरूको अनुपातमा शिक्षकको दरबन्दी कायम गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने नीति पनि गाउँपालिकाले लिएको छ ।गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, वडाध्यक्ष अछेलाल महतो, मुक्ति राउत कुर्मी, जयप्रकाश चौरसिया, अनोजकुमार चौरसिया, मोहन यादव, कार्यपालिका सदस्य र वडा सदस्यलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply