निजगढ,जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको उपाधि जितेको खुशीयालीमा आइतवार बिहान निजगढमा मोटरसाइकल र्याली निकालिएको छ ।निजगढ क्रिकेट क्लबको आह्वानमा निजगढको शहिद चोकबाट निस्केको सो ¥याली पूर्वपश्चिम राजमार्गको भमरा– बकैया खण्डमा परिक्रमा गरेको थियो । ¥यालीमा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गसहित निजगढ क्रिकेट संघका पदाधिकारी, स्थानीय युवा र खेलप्रमेमीहरुको सहभागिता रहेको थियो ।
क्लबका अध्यक्ष निर्मल सापकोटाले मधेस प्रदेशको प्रतिनिधित्व गर्ने टिम जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा विजयी भएको खुसियालीमा ¥याली निकालिएको बताउनुभयो ।यसैबीच जनकपुर बोल्ट्सले एनपीएल क्रिकेटको उपाधि जितेको खुशीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आइतवार सार्वजनिक बिदा दिएको छ ।
मधेस प्रदेशको प्रतिनिधित्व गरेको जनकपुरले एनपीएलको उपाधि जितेर ऐतिहासिक उपलब्धि हासिल गरेकाले खुशीयाली मनाउन आइतवार बिदा दिएको गाउँपालिकाले निकालेको सूचनामा उल्लेख छ ।आइतवार स्वास्थ्य चौकीका अत्यावश्यक सेवा बाहेक पालिका अन्तर्गतका सबै कार्यालय बन्द रहने सखुवा प्रसौनी गाउँपालिकाले जनाएको छ । शनिवार भएको एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्सले उपाधि जितेको छ ।

















