निजगढ,अमलेखगंज – बरौनी– अमलेखगंज रुटमा सञ्चालित निजी ट्यांकर र ट्रकको व्यवस्थापनको माग गर्दै व्यवसायी र मजदुर संगठनहरूले आन्दोलनको चेतावनी दिएका छन ।अमलेखगंज पेट्रोलियम ढुवानी व्यवसायी संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन इकाई समिति अमलेखगंज र नेपाल पेट्रोलियम ट्यांकर चालक संघले बिहीवार एक विज्ञप्तिमार्फत आफूहरुको माग तत्काल संवोधन गर्न नेपाल आयल निगमसंग माग गरेका हुन ।

मजदुरहरुले बरौनी– अमलेखगंज रुटका १ सय ४ ट्यांकर र ट्रकहरूको व्यवस्थापन गरिनुपर्ने, ट्यांकर र ट्रक मालिक व्यवसायीलाई करार सम्झौतामा दिनुपर्ने, ५० लिटरभन्दा बढी इन्धनका नाममा परेको दोब्बर प्रकरण खारेज गर्नुपर्ने चार बुँदे माग अघि सारेका छन ।‘आगामी पुस १० गतेभित्र माग पूरा गर्न आग्रह छ, अन्यथा आन्दोलनमा जान बाध्य हुनेछौं ।’ सो विज्ञप्तिमा जनाइएको छ ।
नेपाल आयल निगमको प्रादेशिक कार्यालय अमलेखगंजले नियम अनुसार ट्यांकर र ट्रकको व्यवस्थापन गर्न नसकेको दाबी गर्दै संगठनहरूले निगमको कार्यप्रति असन्तुष्टि व्यक्त गरेका हुन ।निगमको केन्द्रीय कार्यालय टेकुले निजी ढुवानी ट्यांक ट्रकलाई व्यवस्थित रूपमा सञ्चालन गर्न निर्देशन दिएको भए पनि सो निर्देशना अनुसार कार्यान्वयन नभएको व्यवसायी तथा मजदुर संगठनहरूको आरोप छ ।व्यवसायी र मजदुर संगठनहरूले पुस १० गतेसम्म माग पूरा नगरिए पुस १२ गते पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलन शुरु गर्ने चेतावनी दिएका हुन ।


















