कलैया,बाराको प्रसौनी गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशन तथा आर्थिक वर्ष २०८२÷०८३ को संशोधित हिउँदे गाउँसभा सम्पन्न भएको छ ।गाउँपालिका सभाहलमा सोमबार गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष विनोदप्रसाद जयसवालले चालु आर्थिक वर्षमा विभिन्न शीर्षकअन्तर्गत भएको खर्च तथा हालसम्मको प्रगति विवरण गाउसभामा सार्वजनिक गर्नुभएको छ ।
सभामा बोल्दै गाउँपालिका अध्यक्ष जयसवारले नेपाल सरकारले स्थानीय तहलाई क्रमशः धारासायी बनाउँदै लगेको आरोप लगाउनुभयो । बजेट व्यवस्थापनमा देखिएको समस्यातर्फ उहाँले संघीय सरकारको ध्यानाकर्षण पनि गराउनुभएको छ ।प्रत्येक वर्ष असार महिनामै बजेट सिलिङ पठाउने गरेकोले सोही परिधिभित्र रहेर स्थानीय तहले बजेट विनियोजन गर्ने गरेको उहाँले जनाउनुभएको छ ।
चालु आर्थिक वर्षको अन्तिमतिर आइपुगेपछि केन्द्र सरकारबाट बजेट कटौती हुने गरेकाले विकास निर्माण तथा सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न हुने गरेको उहाँले जानकारी दिनुभएको छ ।संशोधित हिउँदे गाउँसभाबाट चालु आर्थिक वर्षको स्वीकृत बजेटभित्रका केही शीर्षकहरूमा मात्र आवश्यक परिवर्तन गरिने स्पष्ट पार्दै यसले कार्यक्रम तथा योजनाहरूलाई अझ प्रभावकारी बनाउने उद्देश्य राखिएको उहाँले जानकारी दिनुभएको छ ।















