काठमाडौं। काठमाडौँ उपत्यकाको चक्रपथ विस्तार दोस्रो चरण अघि बढाउने विषयमा नेपाल र चीनबीच सहमति भएपछि सरकारी अधिकारीहरूले परियोजना विगतमा जस्तै ढिलाइ र त्रुटि नदोहोरिने गरी तयारी गरिएको बताएका छन्।
भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच बुधबार भएको सम्झौताअनुसार कलङ्कीदेखि वसुन्धारासम्मको ८.२ किलोमिटर सडक विस्तार गरिनेछ। उक्त परियोजना चीनको करिब १२ अर्ब रुपैयाँभन्दा बढी अनुदानमा सञ्चालन हुनेछ।
यसअघि चक्रपथ विस्तारको पहिलो चरण (कलङ्कीदेखि कोटेश्वर) ढिलो गतिमा अघि बढेको तथा पोल सार्ने काम, मन्दिरलगायत संरचनाका कारण अवरोध भएको भन्दै आलोचना हुँदै आएको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार परियोजना अघि बढाउन आवश्यक सबै तयारी पूरा गरिएको छ। उनले भने, “पहिला वित्तीय सम्झौता भइसकेको थियो, तर कोभिडलगायत कारणले ढिलाइ भयो। यसपटक सबै क्लियरेन्स भएपछि मात्रै चिनियाँ टोली काम सुरु गर्न आउने व्यवस्था मिलाइएको छ।”
उनका अनुसार चिनियाँ पक्षले सर्भे पूरा गरिसकेको छ र विस्तृत प्रतिवेदन बुझाउने तयारीमा छ। प्रतिवेदन प्राप्त भएपछि सडक विभागले सुझाव दिने र त्यसकै आधारमा ठेकेदार छनोट गरी निर्माण अघि बढाइनेछ।
मन्त्रालयले परियोजनामा नेपालले प्रत्यक्ष रूपमा रकम नलिने र सम्पूर्ण निर्माण तथा कार्यान्वयन चिनियाँ पक्षबाटै हुने जनाएको छ

















