दुष्यन्त चौधरी
पर्सा — पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ बेलवामा १० औं थारू साहित्य राष्ट्रिय सम्मेलन हुने भएको छ । वीरगन्ज स्थित रहेको आदर्श थारू छात्रावासमा बसेको बैठकबाट १० औं थारू साहित्य राष्ट्रिय सम्मेलन पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ बेलवामा माघको १५ गते देखि १७ गते सम्म गर्ने निर्णय भएको थारू लेखक संघ नेपालका हृदय नारायण चौधरीले जानकारी दिनुभयो । थारू लेखक संघ नेपालको आयोजनामा तथा थारू अतिथि सेवा सदन समितिको सहकार्यमा साहित्य, संस्कृति र सिर्जनशील अभिव्यक्तिको विकासका लागि यो सम्मेलन महत्वपूर्ण पड़ाव हुने विश्वास व्यक्त गरेको छ । सम्मेलनमा देशभरिका थारू साहित्यकार, कवि, लेखक, पत्रकार र साहित्यप्रेमीहरूको सहभागिता रहने बारे डाक्टर कृष्णराज सर्बहारीले जानकारी दिनुभयो ।
सम्मेलनमा कविता, गजल, कथा, गीत, समसामयिक समालोचना र सांस्कृतिक प्रस्तुतीहरू समावेश रहने बारे समेत डाक्टर सर्बहारीले बताउनुभयो । साथै स्थानीय तहमा सिर्जना गरिएका थारू भाषाका साहित्यिक कृतिहरूको वाचन तथा प्रस्तुतिसमेत हुने अपेक्षा गरिएको छ । कार्यक्रमको प्रमुख आकर्षणका रूपमा सम्मान–समारोह, अतिथि सम्बोधन, छलफल तथा परिचर्चा रहनेछ । डाक्टर सर्बहारीका अनुसार साहित्य समाजको ऐना मात्र नभई परिवर्तनको शक्ति भएको भन्दै यस्ता सम्मेलनले नयाँ पुस्तामा साहित्यप्रतिको रुचि बढाउने र स्थापित स्रष्टा तथा नयाँ प्रतिभाबीच सेतुको काम गर्ने विश्वास रहेको दावी गर्नुभयो ।
थारू लेखक संघ नेपालको आयोजनामा हुने १० औं थारू साहित्य राष्ट्रिय हुने सम्मेलनमा थारू साहित्यप्रेमी, बौद्धिक वर्ग, समाजसेवी र सरोकारवालालाई कार्यक्रममा सहभागी भई सफल पार्न आग्रह गरेको छ । ग्रामीण भेगमै साहित्यिक सम्मेलन गर्ने परम्पराले स्थानीय संस्कृतिको जगेर्ना, मौलिक भाषा र पहिचानको संरक्षणमा सहयोग पुर्याइरहेको थारू साहित्यकारहरूले भनाइ थियो । सम्मेलनमार्फत सिर्जना गर्ने वातावरण, प्रतिभा पहिचान र सञ्जाल विस्तारसँगै जिल्लाको साहित्यिक प्रवाहलाई राष्ट्रिय धारासँग जोड्ने लक्ष्य लिइएको आयोजक पक्षको भनाइ छ ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिमल कृष्ण श्रेष्ठ रहने आयोजकले जानकारी दिनुभयो ।


















