निजगढ,निजगढ नगरपालिकाले एसईई दिने विद्यार्थीहरुको लागि शुरु गरेको निःशुल्क तयारी कक्षाको नगर प्रमुख सुरथ पुरीले बुधवार उद्धाटन गर्नुभएको छ ।नगरप्रमुख पुरीले निजगढ वडा नम्बर १ स्थित श्री नेपाल राष्ट्रिय मावि सिंगौलमा एक कार्यक्रमबीच तयारी कक्षाको उद्धाटन गर्नुभएको हो । तयारी कक्षाको उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पुरीले विद्यार्थीहरुले एसईई परीक्षामा राम्रो नतिजा ल्याउन सकुन भनेर नगरपालिकाले निःशुल्क कक्षा संचालनमा ल्याएको जानकारी दिनुभयो । कार्यक्रमबाट राम्रो नतिजा हासिल गर्न विद्यार्थीहरुलाई सहयोग पुग्ने उहाँको भनाई थियो ।
अघिल्लो वर्ष २ महिना मात्र संचालन गरिएको यो कक्षा प्रभावकारी देखिएपछि यस वर्षबाट अवधि १ महिना बढाइएको पनि नगरप्रमुख पुरीले जानकारी दिनुभयो ।

उहाँले कक्षा ८ का विद्यार्थीहरुको लागि पनि छिटै तयारी कक्षा संचालनमा ल्याउने तयारी भइरहेको पनि बताउनुभयो ।
उप्रमुख सोममाया थिङ्गले तयारी कक्षामा नियमित रुपमा सहभागी हुन र कार्यक्रमको फाइदा लिन विद्यार्थीहरुसंग आग्रह गर्नुभएको थियो ।नगरका माध्यमिक तहका ८ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी शुरु गरिएको तयारी कक्षा प्रतेक विद्यालयमा ३ महिनासम्म संचालन गरिने निजगढ नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछानेले जानकारी दिनुभयो । कक्षामा विद्यार्थीहरुको लागि अंग्रेजी, गणित, विज्ञान जस्ता विषयहरु निःशुल्क अध्यापन गराइने उहाँले बताउनुभयो ।तयारी कक्षाको उद्धाटन कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, कार्यपालिका सदस्य फुलमाया लामा, नगरपालिकाका विभिन्न माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र विषयगत शिक्षकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply