काठमाडौं,आफ्ना वृद्ध आमाबुबाको सेवा गर्नु हरेक नागरिकको कर्तव्य भएको र त्यो कर्तव्य आज भोतिका मानिसहरुले बिर्सदै गएको कुरालाई बालबालिकाहरुले नाटकमार्फत खबरदारी गरिरहेका छन् । बाल कलाकारहरुले कसैले कहिल्यै पनि अभिभावकप्रतिको दायित्व भुल्न नहुने बताएका छन ।

शैलीथियटर, रुसी सदन, संस्थागत विद्यालय संघ नेपाल (इसान) र ओजस थियटरले संयुक्त रुपमा आयोजना गरेको १५औं राष्ट्रिय बालनाटक महोत्सवको पाँचौ दिन रंग निर्देशक टंक चौलागाईको लेखन, मञ्जु गिरीको निर्देशन र श्रीयन्त्र फउन्डेसन, मुलपानी प्रस्तोता रहेको नाटकका बाल कलाकारहरुले यस्तो विचार पोखेका हुन् । नाटकमा कलाकारहरु अदम कार्की, सदिक्षा पौडेल, आशिष सुवेदी, आकृति भण्डारी, रुक्मिनी फुँयाल, कुशल श्रेष्ठ, निशा ढकाल, उज्वल कार्की, जेनिशा राउत, शंकर शाह, प्रशान्त भुजेल, सुश्रित खतिवडा, रोशन कार्की, त्रिशा थापा, अभिषेक घिमिरे, ललिता अधिकारी, दिया तामाङ आदि कलाकारहरुले नाट्य प्रस्तुतिलाई न्याय दिएका थिए । त्यस्तै हरिस थापा, विनिता पण्डित थापा, रिता आचार्य, सोफिया बज्राचार्यले नाटक मञ्चनकालागि पाश्र्वमञ्चमा सहयोग गरेका थिए ।

नाटकले आफ्ना घरमा रहेका हरेक सदस्यहरु त्यसमा पनि ज्येष्ठ नागरिकहरुसँग बालबालिकाको निकट सम्बन्ध रहेको हुन्छ । परिवारले उनीहरुलाई अपमान र तिरस्कार गर्नाले उनीहरुको मनमा ठेस पुग्ने र आफ्नो परिवारप्रति नै वितृष्ण पैदा हुने र बालबालिकाले समेत सोही कुरा सिक्ने हुनाले हरेक परिवारमा आफ्ना अग्रजहरुको सम्मान सदैब गर्नुपर्ने मुल सन्देश बोकेको थियो । कलाकारहरुले छोटो समयमै स्टेजमा लाइटसँग पूर्वाभ्यास गरेको र त्यसलाई चाँडै उतारेको कुराको प्रशंसा भएको थियो ।निर्देशक गिरी सन् २०१०देखि निरन्तर रुपमा नाटय गतिविधिमा लागिरहनुभएकी सृजनशील युवा रंगकर्मी हुन् । मञ्जुश्री गुरुकुलम् नामक संस्थाकी अध्यक्षसमेत रहेकी गिरी थियटर मल, राराहिल, किर्तीपुर रंगमञ्चसँग पनि आवद्ध हुनुहुन्छ । उहाँ नाट्यकर्मी महासंघ, नेपालकी कोषाध्यक्ष पनि हुनुहुन्छ ।

त्यस्तै सोही महोत्सवमा दर्शक दीर्घाको मन जित्न सफल इच्छा सिंको लेखन तथा निर्देशन रहेको एलिटग्राण्ड स्कुल चुच्चेपाटीको प्रस्तुती र नोना ज्ञवाली, आर्याश्री चौलागाँई, एलेक्स गिरी, आराध्या कार्की, एरिना सोनार, ल्हामु शेर्पा, आद्भिका आदिको बेजोड अभिनयरहेको नाटक अनिच्छित सोच २११२ पनि मञ्चन भएको थियो ।

नाटकले घर परिवारमा बालमैत्री वातावरणन हुँदा परिवारका सदस्यहरुले बालबालिकाको इच्छा र भावनाको कदर नगरिदिँदा बालबालिकाको मनोविज्ञानमा पर्नसक्ने असरको बारेमा अभिभावक वर्गलाई सचेत गराएको थियो । हरेक अभिभावकले आफ्ना छोराछोरीको सपनालाई बेवास्ता गर्दै आफ्नै सपना मात्र उनीहरुमाथि लाद्ने हो भने बालबालिकालाई मनोसामाजिक रोगले गम्भीर रुपमा च्याप्ने र यो भाइरसकै रुपमा फैलन पनि सक्ने कुरालाई लिएर नाटकले बालबालिकाको सुन्दर भविष्यप्रति चिन्ता व्यक्त गरेको थियो । स्ट्रेस भाइरसको कारण मुख्य पात्र मायालाई गहिरो चोट लागेको र उनी विगत धेरै वर्षदेखि साइक्याट्रिकको मातहतमा एक अस्पतालमा उपचाररत हुन्छिन । उनको परिवार भने उनको चित्र बनाउने सपनालाई बेवास्ता गर्दै एसइईमै बढी नम्बर ल्याउनमै केन्द्रित रहेकोले यो भाइरसले उनलाई आक्रमण गरेको कुरा पत्ता लागेपछि मात्र मनोचिकित्सकहरुले उनको उपचार सुरु गर्न सक्षम हुन्छन् र नाटकको अन्त्य हुन्छ ।निर्देशक सिं पनि बाल कलाकारदेखि नै नाट्य क्षेत्रमा सक्रिय रहँदै आउनुभएकी प्रतिभाशाली रंगकर्मी हुन् । उहाँले यसै विधासँग सम्बन्धित थुप्रै पुरस्कार पनि पाइसक्नुभएको छ ।

Leave a Reply