नेपाल पत्रकार महासंघको करिब ६ महिना ढिला गरी भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ र इतिहासमा पहिलो पटक महासंघले महिला अध्यक्ष पनि पाएको छ ।महिला अध्यक्ष पत्रकारहरुले पाउनु एक हिसावले नेपाली पत्रकारहरुको लागि गौरवको कुरा हो । यो घटनाले करिब ७० वर्षको पत्रकार महासंघको इतिहासमा लैंगिक समानता र समावेशिताकाको आधारमा मूल नेतृत्वमा एकजना महिलाले स्थान पाएकी छिन ।
पत्रकार महासंघमा यसअघि लैङ्गिक विभेदको कुरा पटकपटक आउने गरेका थिए । तर यस पटक यी सबै कुरा चीरेर पत्रकारहरुले आफ्नो अध्यक्ष महिलालाई नै चुनेका छन् । महासंघको अध्यक्ष पदमा महिलालाई विजयी तुल्याउर पत्रकारहरुले लिंगको आधारमा कुनै विभेद गर्दैनन् भन्ने उदहरण पनि हो ।हुन त् अघिल्लो निर्वाचनमा पनि निर्मला शर्मा नै अध्यक्ष पदको लागि प्रत्यासी बन्नुभएको थियो । तर त्यस बेला उहाँ पराजित बन्नुभयो । तर यसपटक उहाँ देशका २ ठूला संघठनबीचको गठबन्धनबाट अध्यक्षमा चुनिनुभएको हो ।
नेतृत्व चयनमा सर्वसम्मत भन्ने कुरा सुन्दा जति राम्रो लाग्छ । व्यवहारमा कार्यन्वयन गर्न त्यो त्यति नै कठिन पनि छ । त्यही भएर पनि महिला अध्यक्ष हुने शंभावना हुदाँहुदै पनि यसपटक पनि मतदान नै गर्नुपर्ने अवस्था आएको थियो । निर्वाचनकै माध्यमबाट भएपनि पत्रकारहरुले यसपटक महिला नेतृत्व चुनेर विश्वलाई नै उदाहरण दिएका छन ।
देशको प्रमुख सामाजिक संस्था मानिने पत्रकार महासंघको कार्यकारी पदहरु मध्येमुख्य एकमा महिलाले नेतृत्व पाएको छ । अब पुरुष वा विगतका अध्यक्षलाई गाली गर्नुभन्दा पनि काम गरेर देखाउने जिम्मेवारी निर्मला शर्माको काँधमा आएको छ । वर्तमान कार्यसमिति अब यो विषयमा गम्भीर बनेर यसैअनुसार काम गर्न पनि जरुरी छ ।
पत्रकार महासंघको निवर्तमान कार्यसमिति लगभग असफल भएको मान्नुपर्छ । आफैले सृजना गरेको सदस्यता सुद्धीकरणको विवादको भूमरीमा फसेपछि महासंघको निर्वाचन समयमै हुनसकेको थिएन । पटक पटक निर्वाचनको मिति सार्ने र निर्वाचनको मुखमा सदस्यता थपघट गर्ने जस्ता कार्य गरेर अघिल्लो कार्यसमितिले महासंघको हुर्मत लिने काम गरेको थियो । अब यस्तो हर्कत फेरि नदोहोरिन हुन्न ।
महासंघले पत्रकारहरुको हकहितका लागि काम गर्नुपर्दछ । मेरो र तेरो भन्नुभन्दा पनि पत्रकारहरुको हकहितका लागि र श्रमजिवी पत्रकारहरुको अधिकार स्थापित गर्नका लागि यो कार्यसमिति गतिशील हुन जरुरी छ ।पत्रकार महासंघको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणाली भएकाले पनि मतादाताहरुले सिधा मत हालेर नै अध्यक्ष चयन गरेकाले अब काम पनि सबै मतदाताहरुको मन जित्ने गरी गर्न जरुरी छ ।















