सिराहा,भारतीय प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका आरिफ खान उर्फ आरिस हुनेनलाई सिराहा प्रहरीले पक्राउ गरेको छ । मंसिर २९ मा उनलाई घाइते अवस्थामा सिरहा नगरपालिका–१७ स्थित माडरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी विरेन्द्र कुमार पासवानले बतानुभयो ।
१७ वटा लुटपाट र हातहतियार मुद्दामा उनी भारतीय प्रहरीको मोस्ट वाण्टेड सूचीमा छन् । बिहारस्थित मधुवनी जिल्लाको प्रहरीले उनलाई पक्राउ गर्नेलाई २५ हजार पुरस्का घोषणा गरेको छ ।महोत्तरीमा २०८० जेठ २८ मा भएको एनएमबी बैंक लुटपाटमा उनी संलग्न रहेको खुलेको छ । हतियारधारी बैंकमा पसेर पेस्तोल देखाएर ३८ लाख लुटेर भागेका थिए । त्यसबेला आरिफ हुसेन सुटरको भूमिकामा बैंकमा प्रवेश गरेको डीएसपी पासवानले जानकारी दिनुभयो ।
सिराहाको कल्याणपुर नगरपालिका–८ स्थित ग्लोबल आइएमई बैंकको शाखा कार्यालयका लेखापाल उपेन्द्र शाहबाट ९ लाख नगद लुटेको घटनामा पनि उनको संलग्नता देखिएको छ । त्यसबारे अनुसन्धान गर्न उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा पठाइएको डीएसपी पासवानले जानकारी दिनुभयो ।