निजगढ,निजगढ नगरपालिका वडा नम्बर ८ घर भएका पत्रकार महेश्वर अधिकारी सम्पर्कविहीन हुनुभएको छ । पत्रकार अधिकारी बेपत्ता भएको उहाँको परिवारले जनाएको छ । परिवारजनले खोजी गर्नका लागि विभिन्न संघ संस्था, सुरक्षाकर्मी र संचारमाध्यमसंग आग्रह समेत गरेका छन ।विगत केही समययता काठमाडौँ जिल्ला कागेश्वरी नगरपालिका मनोहरामा बसोबास गदै आउनुभएका पत्रकार अधिकारी काठमाडौँ महानगरपालिका नयाँबानेश्वर थापागाउँबाट गत शुक्रबार दिउँसो २ बजेदेखि सम्पर्कविहीन हुनुभएको हो ।सोहि बिहान घरबाट कार्यालयमा भनी घरबाट निस्किनुभएका अधिकारी अहिलेसम्म परिवार र आफन्तको पनि सम्पर्कमा आउनुभएको छैन । अधिकारी सम्पर्कमा नआएपछि परिवारले खोजीका काठमाडौं महानगरपालिका प्रहरी कार्यालयमा अनुरोध पत्रसमेत दर्ता गरेका छन । पत्रकार अधिकारीले अधिकारीले प्रयोग गर्ने मोबाइल फोनसमेत अफ रहेको छ ।प्रहरी र आफन्तले शुक्रबारबाट नै खोजी कार्यलाई तीव्रता दिएको भएपनि हालसम्म उहाँको अवस्था बारे पत्ता नलागेको महानगर प्रहरीले जनाएको छ ।पत्रकार अधिकारी निजगढबाट प्रकाशन हुने निजगढ समाचारको सह–संपादक र अनलाई पोर्टल ‘फरक नेपाल डट कम’ का संचालक हुनुहुन्छ । केहि वर्षदेखि निजगढमा रहेर विभिन्न संचारमाध्यमहरुमा काम गर्दैआउनुभएका अधिकारी एक्कासी संपर्कविहिन हुनुभएको हो ।अधिकारी नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सदस्य, नेकपा माओवादी निकट प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य र निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिवसमेत हुनुहुन्छ ।
















