निजगढ,सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद कलवारलाई निलम्बन गर्नुपर्ने माग गर्दै नेपाली काग्रेसका कार्यकर्ताहरुले शनिवार बाराको निजगढस्थित पूर्वश्चिम लोकमार्ग ४ घण्टा अवरुद्ध पारेका छन ।प्रहरीको गोली लागेर गत बुधवार सिम्रौनगढ १ का लक्ष्मी मुखिया बिनको मृत्युभएपछि आन्दोलित बनेका कांग्रेसका कार्यकर्ताहरुले राजमार्गको बकैया पुलमा प्रदर्शनसहित दिउसो २ बजेदेखि साँझ ५ बजेसम्म सडक अवरुद्ध पारेका हुन ।कांग्रेस बारा क्षेत्र नम्बर १ का सभापती विजयंशंकर यादवले घटनामा नगरप्रमुख कलवार र मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक रविभूषण यादवमाथि पनि कारबाही हुनुपर्ने बताउनुभएको छ । ‘मेयर कलवार, मुख्यमन्त्री यादव र प्रहरी निरीक्षक रविभूषणमाथि कारबाही हुनुपर्छ, सभापती यादवले भन्नुभयो, ३ जनाको योजनामा बिनको हत्या भएको छ ।’सिम्रौनगढ नगरपालिका कार्यपालिकको कार्यालयमा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रालाई हाजिर गराउन नगर प्रमुख कलवार कार्यालयमा पुगेपछि तलबको माग गर्दै ३ महिनादेखि धर्नामा बसेका नगरका शिक्षक, कर्मचारी र वडा अध्यक्षहरुसंग प्रहरीको झडप परेको थियो । आन्दोलनकारीहरुले नगरपालिकाको गाडीमा ढुङ्गामुडा गर्न थालेपछि प्रहरीले चलाएको गोली लागेर बिनको मृत्युभएको हो ।काग्रेस कार्यकर्ताहरुले मुख्यमन्त्री यादवको आदेशमा प्रहरीले गोली चलाएको आरोप लगाएका छन । उहाँले मुख्यमन्त्री र निरीक्षकको फोन डिटेलको छानबिन गर्नुपर्ने पनि माग गरेका छन । ‘निरीक्षक यादव र मुख्यमन्त्रीबीच घटनाको दिन पटकपटक फोनमा कुरा भएको छ, कांग्रेस सभापती यादवले भन्नुभयो, उनकै आदेशमा प्रहरीले गोली चलाएको र सर्वसाधारणको हत्या गरेको हो ।’
घटनापछि आन्दोलित बनेको कांग्रेशले बिहीवार बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ६ बुँदे ज्ञापनपत्र बुझाएर २४ घण्टाभित्र माग पुरा नभए राजमार्ग अवरुद्ध पार्ने चेतावनी दिएका थिए । सभापती यादवले आफ्ना माग पुरा नभएसम्म आन्दोलन जारी राखिने बताउनुभयो ।















