वीरगञ्ज,वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी अरबिन्दलाल कर्णले पाउनुभएको छ ।
महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख रहेका कर्णलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएसँगै कर्णले सोमवारबाट पदभार सम्हाल्नुभएको हो ।
सोमवार एक कार्यक्रमकाबीच महानगरप्रमुख राजेशमान सिंहले कर्णलाई कार्यकाल सफलताको शुभकामनासहित प्रमुख प्रशासकीय अधिकृतको रुपमा स्वागत गर्नुभएको थियो । वीरगञ्ज महानगरपालिकामा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको सरुवा भएसँगै महानगर प्रमुख प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा गएको एक महिनादेखि महानगरपालिकाको आर्थिक कारोबार ठप्प भएसँगै आवश्यक कामकारबाही समेत प्रभावित हुदै आएको थियो ।कर्णले सोमवारबाट कार्यभार सम्हालेसँगै महानगरका सम्पुर्ण गतिबिधि एक दुई दिनभित्रैमा सामान्य रुपमा आउने आशा गरिएको छ ।