काठमाण्डौं,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध तल्लो सदन लोकसभामा दर्ता भएको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ ।लोकसभाका अध्यक्ष ओम बिरलाले बिहीवार सदनको कारबाही समाप्त हुनुअघि केन्द्र सरकारविरुद्ध विपक्षी दलहरूले दर्ता गरेको अविश्वास प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।यसअघि अविश्वास प्रस्तावलाई लिएर लोकसभामा तीन दिनसम्म सत्तापक्ष र विपक्षका सांसदहरूले आफ्नो विचार राखेका थिए । प्रधानमन्त्री मोदीले जवाफ दिएपछि लोकसभाका अध्यक्षले अविश्वास प्रस्तावमाथि ध्वनि मतका आधारमा प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभएको हो ।बिहीवारको बैठकमा मोदीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षी दलहरूको चर्को आलोचना गर्दै मणिपुर राज्यमा शान्ति कायम गराएरै छाडिने बताउनुभएको छ । उहाँले मणिपुरमा महिलाहरूमाथि अक्षम्य अपराध भएको भन्दै दोषीलाई कडाभन्दा कडा सजाय दिलाउन केन्द्र र राज्य सरकार मिलेर काम गरिरहेको बताउनुभयो ।जवाफकै क्रममा मोदीले विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु भगवानको आशीर्वाद भएको बताउँदै सन् २०२४ को लोकसभा चुनावमा विगतका सबै रेकर्ड तोडेर एनडीए र भाजपाले भव्य विजय हासिल गर्ने दाबी गर्नुभयो ।मणिपुर राज्यमा भएको हिंसामा सरकारले अभिभावकीय भूमिका खेल्न नसकेको र देशमा निरङ्कुशता हाबी भएको भन्दै विपक्षीले मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।यसअघि सन् २०१८ मा पनि नरेन्द्र मोदी सरकारको विरुद्ध विपक्षीले अविश्वास प्रस्ताव ल्याएको थियो । सदनमा ११ घण्टा लामो छलफलपछि अन्ततः मोदी सरकारले सदनमा आफ्नो बहुमत पु¥याएको थियो ।



















